
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण २३, सोमवार
गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको प्रारम्भिक प्रक्रिया शूरु भएको छ ।
पत्रकार सम्मलेनमार्फत डीपीआरका लागी डिजीकोन कन्सलटेन्सी र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीबीच सम्झौता सम्पन्न भएको जानकारी गराइएको छ ।
सम्झौता अनुसार ७ करोडमा नक्शा र भवन निर्माण सम्मको मोनिटरिङ्ग गर्ने जिम्मा उक्त कम्पनीले नै पाएको प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीका कार्यकारी अध्यक्ष डा. पोखरेलले जानकारी दिदै सम्झौता अनुसार कन्सलटेन्सीका प्राविधीहरुको टोली सोमवारदेखी नै निर्माण स्थलमा पुगी डीपीआर लगायतको काम शूरु गरेका जनाइएको छ ।
प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि सम्झौता भएसँगै राजविराज नगरपालिका वडा नं. १० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ विघा जग्गामा निर्माण कार्यको सुरुवात हुने भएको छ । प्रस्तावित जग्गाको घेरवार, वातावरणीय प्रभाव मुल्याँकन, भुमिको अवस्था, माटोको परिक्षण लगायतको काम यस अघि नै सकिएको प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीले जनाएको छ ।
डीपीआरको कामलाई पहिलो चरणमा चार महिना भित्र नक्शा र डिजाईनको काम सम्पन्न गर्ने तथा दोस्रो चरणमा संरचना निर्माणको काम शूरु हुने र तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको निर्देशक डा. रञ्जीत झाले बताए ।

नेपाल सरकारले यस अघि नै प्रतिष्ठान निर्माणको प्रारम्भीक कार्यका लागी राजविराजमा कार्यालय स्थापना गरी ४० करोड रुपैया बजेट विनीयोजन गरेकोमा १० करोड रुपैया प्रतिष्ठानको खातामा जम्मा भएको छ । हालसम्म घेरबार, वातावरणीय प्रभाव मुल्याँकन, माटो परिक्षण, कार्यालय व्यवस्थापन लगायतका काममा २ करोड १५ लाख खर्च भईसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । साथै प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब १२ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको बताइयो ।
प्रतिष्ठान स्थापनाका लागी तत्कालिन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, संविधानसभा सदस्य रञ्जु झा, गजेन्द्र नारायण सिह अस्पतालका तत्कलिन मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा. रञ्जीत झा लगायतले सक्रियता देखाएपछि २०७४ भदौ १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।
मन्त्रीपरिषदको २०७५ पुष २३ गतेको बैठकले प्रधानमन्त्रि ओलीको घोषणालाई मुर्तरुप दिदै राजविराजमा गणतन्त्रवादी नेता सिंहको नाममा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदले निर्णय गरेपछि २०७८ असाढ २२ गते तत्कालिन प्रधानमन्त्रि ओलीले भर्चूअल माध्यमबाट प्रतिष्ठानका लागी भवन निर्माणको शिलान्यास गरेका थिए ।