
संजीव सिंह, ललितपुर । २०७९ असार ३१, शुक्रवार
क्रोधकला शिरोमणि निवासमा हिजो भएको एक विशेष समारोहबीच चिबहाल कला प्रदर्शनीको समिक्षा गरिएको छ ।
क्रोधकला शिरोमणि निवास वरिष्ठ परम्परागत मूर्तिकार एवं ललितकला क्षेत्रका जिउँदो सम्पदाको रूपमा रहेका विश्वविख्यात कलाकार कालु कुमालेको निवास हो ।

पाटन संग्रहालय, पाटन दरवार स्क्वायरमा असार ९ गते देखि असार १३ गते सम्म संचालित ५ औं चिबहाल कला प्रदर्शनीको समिक्षा क्रोधकला शिरोमणि निवासमा ९० वर्षीय बयोबृद्ध वरिष्ठ कलाकार कालु कुमालेको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो ।

५ औं चिबहाल कला प्रदर्शनीमा देशका वरिष्ठ कलाकारदेखि उदयमान कनिष्ठ कलाकारहरुको सहभागिता रहेको थियो । ४० जना कलाकारहरूको चित्रकला प्रदर्शनीमा रहेको थियो भने ८ जना कलाकारहरुको मूर्तिकला प्रदर्शनीमा राखिएको थियो । चिबहाल आर्ट ईन्स्टिच्युटले आयोजना गरेको उक्त प्रदर्शनीमा चिबहाल बचत तथा ऋण सहकारी संस्थाले सहयोग पुर्याएको थियो ।

५ औं चिबहाल कला प्रदर्शनीमा भएको कलाको बारेमा भएको समिक्षात्मक कार्यक्रममा ललितपुर कलामंचका अध्यक्ष एवं चर्चित कलाकर अजय देशारले यस्तोखाले प्रदर्शनीले कलाको विस्तार र प्रबर्द्धन हुने बताए । साथै उनले वरिष्ठ एवं ख्यातिप्राप्त मूर्तिकार कालु कुमालेको जीवनी पाठ्यसामग्रीमा समावेश हुनु पर्ने जोडदार माग समेत उठाए।
कलाको समिक्षा समारोहमा हस्तकला विभाग, ललितकलाका प्रमुख एवं प्राज्ञ धर्मराज शाक्यले कलालाई बजारसंग जोडदै विस्तार गर्नुपर्नेमा जोड दिए । विभिन्न विश्वस्तरिय अनुदानको अवसर नेपाली कलाकारले पाउनु पर्ने तथा नेपाल मै पनि कलाकारको उचित सम्मान र आर्थिक आय हुनुपर्ने बताए ।

समिक्षा समारोहमा कालु कुमालेका पुत्र एवं कालु आर्टस् एण्ड हयान्डिक्राफ्टका प्रबन्ध निर्देशक राकेश अवालेले कलाको बारेमा व्याख्या गर्दै कलाकारको गरिमालाई राष्ट्रले सम्बोधन गर्नुपर्ने बताए साथै बर्षेनी केही कलाकारलाई क्षात्रबृती प्रदान गर्दै आएको पनि बताए । सो अवसरमा कलाकार एवं साइकल यात्री विकास महर्जनको सिङ्गापुरको लागि हुने साइकल यात्राको शुभकामना सहित प्राज्ञ सुष्मा राजभण्डारीको रसीया कला भ्रमणको लागि समेत शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा चिबहाल आर्टस र साकोसका अध्यक्ष राजन महर्जनले कलामको बारेमा थप प्रकाश पारेका थिए । यसका साथै समारोहमा अतिथिको रुपमा वरिष्ठ कलाकारहरु, कलाका विद्यार्थी, कलाप्रेमी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।