
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ३०, बिहिवार
मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएको र त्यहाँ विभिन्न समस्याहरु बाट पीडित मधेशी समुदायका दिदीभाई तथा दाजुबहिनीहरुलाई यथाशिघ्र उद्दार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खडकालाई आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आयोगका अध्यक्ष डा.दत्त र मन्त्री खड्काबीच भएको औपचारिक भेटघाटमा अध्यक्ष डा.दत्तले आयोगमा वैदेशिक रोजगारी सम्बन्धी विभिन्न किसिमको उजुरी आउने गरेको र सो समस्याहरुलाई परराष्ट्र मन्त्रालयले बिना ढिलासुस्ती गरी प्रभावकारी रुपमा सम्बोधन गरी समाधान गर्नको लागि सम्बन्धित निकायहरुलाई निर्देशन गरिदिन समेत आग्रह गरेका छन् । अध्यक्ष डा.दत्तले सबैभन्दा बढी तराई मधेश बाट बैदेशिक रोजगारमा जाने गरेको र तिनीहरुको समस्याहरु धेरै आउने गरेकोले आफु सो प्रति गम्भीर रहेको बताएका छन् ।
अध्यक्ष डा.दत्तले विदेश स्थित नेपाली दुतावासहरुले त्यहाँ रोगजार वा विभिन्न सिलसिलामा पुगेकाहरुलाई समस्या पर्दा प्रभावकारी रुपमा त्यहाँका सरोकारवाला निकायहरुसंग समन्वय गरी समस्यालाई तुरुन्त समाधान गर्नुपर्ने बताएका छन् ।
परराष्ट्र मन्त्री खडकाले आफु र मन्त्रालय सो प्रति सचेत रहेको र पीडितलाई न्याय दिलाउन कुनै कमी कमजोरी नाआउन दिने बताएका छन् । उनले आयोग र मन्त्रालय एक आपसमा समन्वय गरेर त्यस्ता आएका उजुरीहरुलाई सक्दो छिटो समाधान तर्फ लग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।