मुलुक डेस्क, काठमाडौं । २०७९ असार २३, बिहिवार

मिथिला संस्कृति समाज तथा हिन्दु परिषद नेपालद्वारा जानकी मन्दिरको वर्तमान अवस्थाबारे आज काठमाडौं स्थित मधेशी आयोगको सभा हलमा बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

नेपालको जनकपुरस्थित जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरुको पवित्र र प्रख्यात तिर्थस्थल हो । मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र राज्यबाट उपेक्षित गरिएकोमा मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले चिन्ता र चासो व्यक्त गरे । गुठी एवं पुरातात्विक बिभाग महत्वपूर्ण जिम्मेवारीबाट पंछिनु, जानकी मन्दिर जनकपुरको मात्र नभई राष्ट्रकै पहिचान जोडिएकोले तीन तहको सरकार गम्भीर नहुन विकासको बाधक रहेको मिथिला संस्कृति समाज नेपालका अध्यक्ष बीरेन्द्र ठाकुरले बताए । यसैगरी मन्दिरको सम्पूर्ण चल अचल सम्पतिको पारदर्शी हुनु पर्ने, जनकपुर क्षेत्रलाई पुर्ण रुपमा सहकारी एवं शांति क्षेत्र घोषणा हुनुपर्ने हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले जनाए ।

मिथिला संस्कृति समाज नेपालका अध्यक्ष बीरेन्द्र ठाकुरको सभापतित्व एंव मधेशी आयोगका अध्यक्ष बिजय दत्तको प्रमुख आतिथ्यमा सम्पन भएको थियो।कार्यक्रममा विशिष्ट अतिथि हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, मधेशी आयोगका सदस्य रेणु देवी साह,अतिथिमा पुरातात्विक बिभागका अधिकृत मंजू सिंह भण्डारी, वरिष्ठ चिकित्सक डा. सबरी साह, संत समाजका अगुवा चन्द्रिका देव्, आयोगका सचिव एवं अन्य कर्मचारी, काठमांडू महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि एवं धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागी रहेको थियो।

कार्यक्रम सहजीकारणको भुमिका हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियारले गरिन । यसका साथै कार्यक्रममाथि प्रकाश एवं प्रतिबेदन हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष पिंकी महासेठ गरेकी थिइन ।

जानकी मन्दिर:
मुगल र राजपुतना शैलीमा बनाइएको जानकी मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा निर्माण पूरा भएको थियो । जानकी मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई “नौलखा मन्दिर” पनि भनिन्छ । मन्दिरको गर्भगृहमा मूर्ति रहेको छ ।

जानकी मन्दिरको वर्तमान अवस्था मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम-जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ ।

विसं १४१७ मा भारतको राजधानीस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।

यहाँ हरेक वर्ष चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, फागुनमा झुला परिक्रमा लगायतका पर्व मनाइन्छ । यी पर्वहरुमा नेपाल र भारतबाट लाखौं भक्तजन जनकपुर आउने गर्दछन् ।

प्राचीनकालमा मिथिला, विदेह र तिरभुक्ति पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । यसबारे रामायण, वेद, पुराणलगायत उपनिषद्मा र मिथिलाको उन्नत सभ्यताबारे व्याख्या गरिएको छ । पौराणिक जानकी मन्दिर जनकपुरको चार दिशामा द्वारपालका रूपमा शिव मन्दिर छ जसमध्ये पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर छ ।

मन्दिर विसं १९५२ मा मन्दिर शिल्यान्यास र विसं १९६७ मा मन्दिर निर्माण पूरा भएको उल्लेख छ । विशाल मन्दिर बनेको एक सय २८ वर्ष भइसक्यो । त्यसअघि भारतबाट आएका सन्तद्वय शुर किशोर दासले जानकी मन्दिर र चतुर्भूज गिरिले राम मन्दिर बनाएका थिए । पछि भानु कुँवरीले बिशाल जानकी मन्दिर बनाइन । यसैगरी जनरल अमरसिंह थापाले ठूलो राम मन्दिर बनाएका थिए ।

जानकी मन्दिरको शतवार्षिकी २०५१ सालमा मनाइयो । मन्दिरका महन्थ रामतपेश्वर दासको कक्षमा महारानी भानु कुँवरीले आफ्नो छोरा र साथमा राजा प्रताप सिंह सहितको तस्वीर पनि राखेका छन ।

मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ । राजस्थानका कालिगर समसुदिन तसगलकले बनाएको उक्त महलमा मिश्रित कलात्मक शैलीको प्रयोग भएको देखिन्छ । मन्दिरमा मिथिला आर्ट, राजस्थानी र राजपुताना शैली, गुजराती ढाँचासहित विभिन्न धार्मिक रङ्गहरू समेत प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *