मुलुक डेस्क, काठमाडौं । २०७९ असार १६, बिहीबार

राजधानी वाहिर सरकारी अस्पतालमा पहिलोपटक गरिएको मृर्गौला प्रत्यारोपण सफल भएको छ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखरामा असार ९ गते गरिएको मृगौला प्रत्यारोपण गरेका अंग ग्रहणकर्ता ५१ वर्षीय यम कुमारी पौडेल आज असार १५ गते बुधवारका दिन अस्पतालबाट छैठौं दिनमा पूर्ण स्वास्थ लाभ गरी डिस्चार्ज भएको छ । उनीलाई उनका ५३ वर्षीय श्रीमान केशव पौडेलले मृर्गौला दान दिएका थिए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको उपचार तथा रोकथाम अन्तर्गत मृर्गौला रोगको उपचारमा विशेष प्राथमिकता दिएकोे हुँदा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना राखेको छ जस अन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा निःशुल्क प्रत्यारोपण शुरु गरिएको हो ।
उक्त प्रत्यरोपण कार्यमा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठनका उपकुलपती प्रा. डा. डुक बहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक प्रा.डा भरत बहादुर खत्री समेत उपस्थित थिए ।

राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा प्रत्यारोपण विज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । केन्द्रका शल्यचिकित्सक प्रा.डा. राकेश कुमार वर्मा, डा. दिपेश श्रेष्ठ, डा. रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, डा. सोभित थापा, नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठ र डा. लुसन सिं, रेडियोलोजिष्ट डा. कृष्ण वुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका तर्फबाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाइँ, डा. सन्तोष श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. माया लामा र डा. अनिल प्रसाद न्यौपाने, नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, ले प्रत्यारोपण कार्य गर्नु भएको थियो त्यस्तै केन्द्रका ट्रान्स्प्लान्ट कोर्डिनेटर तारा साँध, ओ.टी. स्टाफ नर्स कामना वोगटी, विनिता कुटु, ज्योति कोजू, कृष्णा गुरुङ्ग, आई.सि.यु स्टाफ नर्स जयन्ती ताम्राकार र सजना कासुला तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक सरिता कार्की, ट्रान्सप्लान्ट कोर्डिनेटर गितादेवी तिवारी, ओ.टी इन्चार्ज कविता पौडेलले सघाएको थियो । प्रत्यारोपण केन्द्रका डा गौरव पन्त तथा हरिहर पोखरेलले प्रत्यारोपण कार्य व्यवस्थापनमा सहयोग पुर्याएको थियो ।

भविष्यमा पोखरामा महिनाको २ जनाको नियमित प्रत्यारोपण गर्ने योजना रहेको छ । त्यसको लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई आत्मनिर्भर वनाउनको लागि केन्द्रले तालिम दिने योजना वनाएको छ । प्रत्यारोपण सम्वन्धी फेलोसिप, डि.एम्, एम्.सि.एच्, लगायतका उच्चस्तरीय जनशक्ति उत्पादन गर्नका निम्र्तीे केन्द्र र प्रतिष्ठान विच सहमति पनि भएको जानकारी केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले दिए । उक्त प्रत्यारोपण सफल भएको कारण मोफसलका विरामीहरुलाई आफ्नो घर आँगन नजिक प्रत्यारोपण गर्न सहज हुने विस्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *