मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०५, आइतवार

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताएका छन ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन ।

प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरव्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने चर्चा गर्दै आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न निर्देशन दिए । त्यस्ता गतिविधिमा संलग्न विभिन्न आवरणका व्यक्तिहरूसँग प्रहरी कर्मचारीहरूको साँठगाँठ भएको पाइए क्षम्य नहुने उनले बताए ।

प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखहरूको काममा आफ्नो पहिचान गासिएको हुनाले अवसरलाई सदुपयोग गरी भ्रष्टाचारमा शून्य शहनसिलता कायम र नागरिक हितको लागि विशेष काम गर्दै सम्मान पाउने वातावरण बनाउन आग्रह गरे । साथै उनले वर्षाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता विपद्का घटना न्यूनिकरण एवम् उद्दारका लागि तयारी हालतमा बस्ने, स्थानीय तह एवं सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वयका साथ विशेष सक्रियता देखाउन निर्देशन दिए । पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट र समन्वय गर्दै व्यावसाहिक रुपले काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *