
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०२, बिहिवार
जिल्ला समन्वय समिति महोत्तरीको प्रमुखमा लोकतान्त्रिक समाजवार्दी पार्टी (लोसपा) नेपालका सुमनकुमार लाल कर्ण १६ मत ल्याएर विजयी भएका छन् ।

जिसस महोत्तरीको नेतृत्वका लागि जसपा नेपाल र नेपाली काँग्रेसले गठबन्धन गरेको थियो भने लोसपा नेपाल, नेकपा एमाले, स्वतन्त्र र तमलोपाले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका थिए । महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिकाको पालिकाका प्रमुख र उपप्रमुख गरी ३० जना मतदाता रहेका थिए ।
सुमनकुमार लाल कर्णका प्रतिस्पर्धि जसपा नेपालका कृष्ण शंकर साहले १४ मत प्राप्त गरेका थिए । जिसस उपप्रमुखमा नेपाल कम्प्युनिस्ट पार्टी (एमाले) का नन्दु महरा विजयी भएका छन् । उपप्रमुखमा महरा र नेपाली काँग्रेसका धवेन्द्र कुमार यादवको बरावर १५/१५ मत आए पछि गोला प्रथा गर्दा महरा विजयी भएकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी खुल्ला सदस्यमा लोसपा नेपालबाट सरयुग यादव, लोसपा नेपाल संग गठबन्धन गरेका स्वतन्त्रबाट श्याम कुमार तामाङ र हरिप्रसाद गौतम विजयी भएका छन् । महिला सदस्यमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का जैसी देवी गोलाप्रथा गर्दा विजयी भइन भने लोसपा नेपालका रिता देवी र नेकपा एमालेका लक्ष्मी कुमारी परियार विजयी भइन । दलित वा अल्पसंख्यक सदस्यमा लोसपा नेपालका रामलखन पंजियार विजयी भएका छन् ।