
अगनसिंह थापा | २०७९ जेष्ठ २१ गते शनिबार
पुनर्मिलन र परोपकार दुबैबाट अथाह आनन्द मिल्छ मान्छेलाई !!
हराएको बहुमुल्य बस्तु अनायास भेट्टाउदा खुसी र आनन्द के मिल्छ ? जति भेटौ नभनिकनै लामो समय अन्तरालपछि जोगले जुराइदिएको जंकाभेटबाट मिल्छ । त्यो पनि अन्तर्मनमा डेरा जमाएर बसेको आत्मीय मान्छेसंग ।
स्वर र शैली त पुरानै हो । जस्तो स्कुलका पुराना दिनहरूमा थिए । मुखबाट निस्केका मधुर आवाज अद्भुत तरङ्ग बनेर कानबाट छिरे । अनायास मन र शरीरमा भावनात्मक रोमान्चकताको सन्चार गरायो । मिठाइ मिल्दाको बालक झैं खुसीले बुर्कुसी मारे म ।
भेटमा हामी केहीबेर आवाजहीन भयौं । अन्तर्मनको रंग उजागर गर्दै एक अर्कोका निश्चल आखाहरू मात्र आपसमा चुपचाप मिले । तर मौनतामा पनि स्कुलकालीन मुर्छना मिलिरह्यो । बात नगरे पनि गरेभन्दा बढी आनन्दानुभूति भइरह्यो । जसरी जवानीमा प्रीतिको गुलाबी मोहनी लाग्दा हुन्छ । जसरी पहरामा प्रकृतिको सेतो झरना झर्दा हुन्छ ।

अविस्मरणीय क्षणले सुन्दर फूल फक्राएको यो स्मरणीय संस्मरण हो- गत महिना बैशाख १० गते शनिबारको । गण्डकी बोर्डिङका भूतपूर्व विद्यार्थी संगठन (एग्बोसा, काठमाडौं)ले आयोजना गरेको एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर थियो । खोकना स्थित बन्धकुटी बिहार परिसरमा ।स्थानीय सेवाग्राहीको सहयोगमा ब्यस्त थिए सबैजना । बिहानको घाम आगन हुँदै बौद्ध संस्कृतिकै धरोहर बिहारकै छातामाथि चढ्यो । हामी पनि दिवा खानाको लागि छत चढ्यौ । छत सगोलको भवनको थियो ।
तारेको करेला, गुन्द्रुक र मिचचुचुचा ह्वःगुमी (टुसा उमारेको मेथी)को अचार, मिचो (मेथीको साग) सहितको स्वादिलो नेवारी खाना थप्ने क्रममा पुनर्मिलनको अर्को अतिशय सुखद अनुभूतिको स्वाद पनि थपियो । अर्थात् गण्डकी बोर्डिङको एउटै छात्रावास (लमजुङ), एउटै शयनकक्षमा रहेका दाइ द्वय (सुवासचन्द्र दवाडी र बुद्धि गुरुङ)संग ४२ वर्षपछि अनायास भेट हुँदाको विलक्षण स्वाद । हामी तीनै जना सिरसिरे हावाको लय संगसंगै विगतमा बग्यौ र वर्तमानमा उत्रियौ ।

पुनर्मिलनबाट स्कुलकालीन स्मृति ताजा मात्र बनेनन् । विस्मृतिको गर्तमा हराउन लागेको सुखद तस्वीर एकएक हरिया भएर आए । उत्साह र आत्मीयताकासाथ आपसमा एकतमासले उर्जाशील उमंगहरू साटेर भरपूर आनन्द उठायौ । जुन तरङ्गीत भावानात्मक भाका न केहीसंग तुलना हुन सक्छ । न त प्राप्त सुखानुभूति शब्दसीमामा अभिव्यक्त गर्न नै । भाषाका शब्दभन्दा भावना धेरै गुना गहिरा र अर्थपूर्ण हुन्छन् ।
शिविरमा मिसिएका हरेक गण्डकीयनको हर्षिलो मुहार देख्दा लाग्थ्यो- केही न केही कोमल सपना रुपी स्कुलकालीन प्रसङ्गहरूबाट सिञ्चित भए सबैसबै । कतिले कतिलाई देख्ने बित्तिकै स्मृति बलवान बनाए । र वैशालु बने होलान् । असीम आकुराहरूको ब्याड बोकेर बसेका आ-आफ्ना अनुभूतिहरूमा । कसैले कसैको सन्झनाको सहयोगले मनमा माया हुर्काए होलान् । ओठमा मुस्कान उतारे होलान् । हातेमालोमा सहभागी हरेकलाई पक्कै कुनै न कुनै हिसाबले पुनर्मिलनको आस्वाद मिलिरह्यो ।
त्यसो त गण्डकीयनहरूसंगको भेटघाट स्वत: प्रीतिकर र सरस बनिहाल्छ । आत्मीय भावको वातावरणमा मौलाएको सौहार्द्रताले सुरम्यताको हागा हालि हाल्छ । जुन ब्याजका भए पनि एउटै परिवारका सदस्य सरह हौ हामी । जोकोहीसंगको भेटले आखिर आफन्ती पनको विशुद्ध र सहृदयी सम्बन्ध मात्रको गण्डकीयन नातालाई आन्दोलित गर्छ । सम्बन्धको गहिराइलाई नै प्रतिबिम्बित गर्छ । चाहे अपरिचित नै किन नहोस् ।

गण्डकीयनहरूको शैली र संस्कार बनिसकेको छ- अग्रजलाई सम्मान र सानालाई स्नेह दिने । गण्डकीयनहरू पद, पावर र पैसामा पनि एक से एक छन् । तर आ-आफ्ना ठाउँमा हासिल गरिएको विशिष्टता भन्दा विशिष्ट छ- गण्डकीयन नाता । त्यसैले पहिला गण्डकीयन मर्यादालाई प्रथमिकतामा परेर प्रस्तुत हुन्छन् जहिल्यै ।
जम्मा १ सय १० जना (५० चिकित्सक, ६० गैर चिकित्सक)हरूको जम्बो जमातको सहभागिता थियो शिविरमा । जम्मा ७ सय ७८ बिरामीहरूले अल्ट्रासाउन्ड, ई.सी.जी, भिडियो एक्सरे, ल्याब परिक्षण, पिएफटी (फोक्सोको परीक्षण), प्याब स्मीर टेस्ट (पाठेघर मुखको क्यान्सर परीक्षण) लगायतका नि:शुल्क सेवा र औषधीबाट स्थानीयबासी लाभान्वित भए ।
एग्बोसा, काठमाण्डौको उक्त कल्याणकारी आयोजनामा स्व. देवबहादुर डङ्गोल स्मृति कोष खोकना र ललितपुर महानगरपालिका वडा नं २१ को सामुहिक समन्वय र सहकार्य थियो भने प्रायोजनमा साथसहयोग दिएको थियो- सूर्य नेपाल प्रा. लि. ले ।

यसभन्दा अगाडि एग्बोसा, काठमाडौंले लुबु, चिलिमे र जोमसोममा यसरी नै नि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेर पुनित परोपकारी कर्मको पहिचान दिइसकेको छ ।
मध्यकालीन पुरानो बस्ती तर प्रत्येक घरमा मोटर बाटो पुगेको उपत्यका कै व्यवस्थित र नमूना नेवारी गाउँ खोकना । जहाँको स्वास्थ्य शिविर, वास्तवमा परोपकारी भावनाले गरिएको स्वास्थ्य शिविर मात्र थिएन । आपसी मित्रता नवीकरणको भरपर्दो माध्यम पनि थियो । संगसंगै उठबसको त्यो सिङ्गो दिन साच्चै अति अनमोल, अलौकिक र रोमान्चक रह्यो ।

नयाँ घर तर पुरानै बान्कीमा बनाइएका । नयाँ समेत समेट्दा १ हजार ४० घरघुरी रहेछन् । खट जात्रा, घेम्पो जात्रा, इन्दजात्रा जस्ता देवीदेवताको नाममा गरिने जात्रा होस् या यामनुसार मनाइने चाडपर्वहरू । अन्यत्रका नेवारसंग नमिल्ने नितान्त फरक छन् र खास खालका ।
ठाउँठाउँमा संरक्षित पुराना पोखरी, पाटीपौवा, ढुंगेधारा, अभिलेख, स्तम्भ-स्मारक आदिले प्राचीन एवं पुरातात्त्विक पहिचानको नै प्रतिनिधित्व गर्छन् । पुरानै गुठी परम्परामा रमाउनु खोकनाबासीको मौलिक संस्कार प्रतिको आस्था र सम्मान हो । नेवारी परम्परामा आधारित भाषा, सस्कार, संस्कृति सम्बर्द्धन गर्दै आएका खोकनाले विविधता बीच एकताको दृष्टान्त प्रस्तुत गरिरहेको छ ।

गाउँको गरिमा । गाउँको गरिमा बढाउने आकर्षण उदाहरणहरू एक खोज्यो, अनेक भेटिन्छन् यहाँ । मठमन्दिर र गुम्बाबिहारमा कुदिएका अनेक थरिका कला-कौशल अर्को ऎतिहासिक आकर्षक हुन् खोकनाका । सांस्कृतिक धरोहर रुपी खोकना पर्यटकको लागि गतिलो गन्तव्य बनेको छ ।
जावलाखेलबाट जम्मा ५ किलोमीटर दक्षिण पर्छ खोकना । जहाँको सास्कृतिक पर्वमा बज्ने ढोलक, धिमे र भुस्याः (कासको झ्याली), ककुबय् (बाँसुरी) र द: (दम्फु) जस्ता लोकबाजाका धुनले जहिल्यै सांस्कृतिक उत्सवको सन्देश बोकी ल्याउछ । त्यसैगरी यहाँका नेवारी भेषभुषा, खानपान र रितिरिवाजले सांस्कृतिक सुवास र सौन्दर्य नै फैलाएका छन् । राष्ट्रको गौरव र प्रतिष्ठा बढाएकै छन् ।

ज्यामितिय अनुपातमा गाउँघरबाट बिमुख बन्दै गैरहेको छ नेपाली जनजीवन । तर गाउँलेका अहंकारविहिन चरित्र, विनम्रता, आदर्शोन्मुख जीवन शैली सबैका निम्ति अनुकरणीय छ । जसलाई प्रत्यक्ष भेटेर उत्प्रेरित हुन्छौ हामी ।
सहरिया जीवनले बिर्सेका अन्न कुट्नेपिस्ने ढिकीजातो, धागो काट्ने चर्खा, कपडा बुन्ने तान, तोरी पेल्ने काठे मील जस्ता परंपरागत तथा रैथाने उपकरणहरू यस उल्लेख्य गाउँका घरआँगनमा देख्दा मात्र पनि उमंगित हुन्छन् जोकोही । जतिबेला पनि काचका पर्दामा आउने कृतिम दृश्यहरूको लतमा फसेका हाम्रा आफ्नै आखाको लागि बरदान साबित हुन सक्छ यहाँका लोभलाग्दा कुमारी दृश्यहरू । सामाजिक, सांस्कृतिक र धार्मिक पहिचानका मौलिक खजनाहरूमा मक्खिन कहाँ पाउँनु कंकृटमय शहरी बस्तीमा ?

लौनचौरको एक रेष्टुरेन्ट । साझको समय । साँझ छिप्पिदै जाने जुन गतिलाई कैयौं गुना पछि पारेर चहलपहल र उल्लास ह्वात्तै थपिएको छ । जहाँ गण्डकीयनहरू आपसमा साटिएर क्षणलाई अद्भुत र अवस्मरणीय बनाइउदै छन् । साङ्गीतिक माहौलमा रमाउनेहरूको दृश्य पनि हेर्नलायक छ । अल्कोहलको नशालेभन्दा बढ्ता जमघटमा बोनस बापत मिलेको आत्मीयताको नशाले लठ्याउदै छ सबैलाई । नाचगानमा शरीरका अङ्गप्रत्यङ्गबाट सम्प्रेषित अनेक जीवन्त हाउभाउ सहितको नाच अगाडि स्पिकरबाट बगेका गीत संगीत फिक्का बनिरहेछ । रमझममा तातिएर पग्लनेहरूको मात्र के कुरा ? मुक दर्शक भएर मजा लिइरहेका मजस्तालाई समेत यो उल्लासमय उर्जाबाट उत्रन पटक्कै मन छैन । घर फर्कन अघि नै अबेर भैसके पनि ।
लामो समयपछि थर्मसमै राखिएको तातो पानी पनि सेलाउछ । त्यस्तै गण्डकीयनहरू बीचको सम्बन्ध पनि सेलाउन सक्छ- लामो समयसम्म पुनर्मिलनबाट विमुख भैरह्यो भने । पुनर्मिलनको सबैभन्दा प्रभावकारी माघ्यम हुनसक्छ- यस्तै फलदायी भौतिक भेटघाट । जसले हामी बीचको आपसी सम्बन्ध र समन्वयको दायरालाई अझ दरिलो र प्रगाढ पार्नेछ भन्ने लाग्छ मलाई ।
