मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०८, आइतवार

‘मेलोडी किंग’ प्रेमध्वज प्रधानको प्रथम वार्षिक श्रद्धाञ्जली सभामा स्थापित ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को समुद्घाटन शनिबार काठमाडौं हात्तीसारस्थित आरण्य बुटिक होटलमा सम्पन्न भएको छ । प्रतिष्ठानको समुद्घाटन स्व. प्रेमध्वज धर्मपत्नी श्रीमती किरण प्रधानले गरिन ।

‘किङ अफ रोमाण्टिक मेलोडी’ को नामले परिचित अमर सर्जक/कलाकार प्रेमध्वज प्रधानको योगदानलाई कालान्तरसम्म स्मरणार्थ बार्षिक रुपमा अथवा दुई-दुई बर्षमा पुण्यतिथिको अवसरमा नेपाली सङ्गीत क्षेत्रमा समर्पित एवं स्थापित, होनहार सर्जक /कलाकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने उदेश्य रहेको बताइयो । उनको साङ्गीतिक जीवन यात्रा, सङ्घर्ष र योगदानलाई जानकारी श्रोत केन्द्रको रुपमा उपलब्ध गराउने, उनको आत्मकथा र स्मृतिग्रन्थ प्रकाशन गर्ने, प्रतिभाशाली कलाकारहरुलाई अगाडि बढ्नका लागि सहयोग गर्ने र उनको बारेमा अध्ययन अनुसन्धान गर्नेहरुलाई सहयोग गर्ने लगायतका उद्देश्यले यस प्रतिष्ठानको स्थापना गरिएको कुरा समेत समारोहमा जानकारी गराईयो । प्रतिष्ठानको मुख्य कार्यालय हाल प्रेमध्वज एवं किरण प्रधानको आफ्नै निवास बैंक मार्ग, बागबजारमा रहेने छ ।

अग्रज सर्जकहरु बच्चु कैलाश बस्नेत, किरण खरेल, योगेश वैद्य, शम्भुजित बासकोटा, र मञ्जु कुमार श्रेष्ठ प्रतिष्ठानको सल्लाहकार समितिमा रहेका छन् भने कार्यकारिणी समितिमा संरक्षिका तथा अध्यक्ष श्रीमती किरण प्रधान, उपाध्यक्ष प्रसन्नध्वज प्रधान, सचिव कविरध्वज प्रधान, कोषाध्यक्ष भूवन मास्के ‘मुस्कान’ र सदस्यहरुमा मनराजा नकर्मी, जुगल डङ्गोल, राजु वैद्य र एरिना श्रेष्ठ रहेका छन् l

समारोहमा यादव खरेल, दुर्गालाल श्रेष्ठ, राजेन्द्र थापा, दिनेश अधिकारी, दीपक जंगम, मदनकृष्ण श्रेष्ठ, शम्भुजित बासकोटा, चूडामणि देवकोटा, दीप श्रेष्ठ लगायत गीत-सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रम पश्चात लाइभ म्युजिकको साथमा उदेश श्रेष्ठले प्रेमध्वज प्रधानको सम्मानमा उनका केही कालजयी गीतहरुको प्रस्तुति दिएका थिए l नरेश भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *