
राम अधार साह, महोत्तरी । २०७९ जेष्ठ ०७, शनिवार
महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ मनराका नागरिक अगुवाहरुले नवनिर्वाचित मेयर र उपमेयर लगायत जनप्रतिनिधिलाई नागरिक अभिनन्दन गरेको छ । मनराको प्रसिद्ध धार्मिक स्थल “महादेव मंठ” नजिकै उक्त अभिनन्दन कार्यक्रम सम्पन्न भएको स्थानीय सरोज चौरासियाले बताए । नेपाली कांग्रेसको तर्फबाट मेयरमा मोहन पाण्डेय (५८८४ मत) र उपमेयरमा शकुन्तला देवी (५७४५ मत) भारी मतका साथ विजयी भएका हुन् ।
कुल १० वटा वडा रहेको नगरपालिकामा कांग्रेसले तीनवटा (वडा नं. २, ३ र १०), एमालेले दुईवटा (वडा नं. १ र ४), लोसपाले दुईवटा (वडा नं. ९ र ६), जसपाले दुईवटा (वडा नं. ५ र ७) र जनमतले एक ठाँउ वडा नं. ८ मा जित हासिल गरेको छ ।
नागरिक अभिनन्दनमा प्रमुख अतिथिको रुपमा भोलही राम जानकी कुटीका महन्त राम लखन दास वैष्णवले नवनिर्वाचित जनप्रतिनिधिलाई टीका लगाई अभिनन्दन गरेका थिए । सो अवसरमा आयोजक रविन्द्र भगतले सम्पुर्ण जनप्रतिनिधिलाई गमछा र टीका लगाउदै मायाको चिनो सप्रेम भेट गरेका थिए । साथै उक्त अवसरमा स्थानीय एवं बुद्धिजीवी श्याम किशोर सिंह, अनिल कुमार सिंह, अमोद कुमार सिंह, जेपि चौधरी, संजीब कुमार यादव, आशे रजक लगायत नागरिकहरुको उपस्थिति रहेको थियो।