
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०२, सोमवार
नेपाली कांग्रेसले काठमाडौंभित्र दोस्रो स्थानीय तहमा जित हासिल गरेको छ । यसअघि दक्षिणकाली नगरपालिकाको प्रमुख जितेको कांग्रेसले कीर्तिपुर नगरपालिकामा पहिलोपटक जित हासिल गरेको हो ।
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरे । नकर्मीले ९ हजार ४३ मत ल्याउँदा बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याए । उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छिन् । उनले ८ हजार ८ सय ६५ मत ल्याउँदा एमालेकी विन्दु महर्जनले ७ हजार २ सय ६ मत प्राप्त गरिन् ।
कीर्तिपुरका १० मध्ये ९ वटा वडामा कांग्रेसले जितेको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा कीर्तिपुरमा प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो ।