
राम अधार साह, महोत्तरी । २०७९ बैशाख २२, बिहीवार
मनराशिसवा नगरपालिकामा बैशाख २१ गते बुधवार बिकास बहस सम्पन्न भएको छ । महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनराको प्रमुख बजारस्थित डबलीमा हिजोको कार्यक्रममा नगरपालिकाका मेयरका प्रत्याशीहरु र जनताबीच प्रत्यक्ष बहस चलेको थियोे । उक्त “नगरपालिका बिकास बहस” कार्यक्रमको आयोजना मुलुक टाइम्सले गराएको थियो ।

“नगरपालिका बिकास बहस” कार्यक्रममा मनराशिसवा नगरपालिकाका निवर्तमान मेयर एवं लोसपा मेयर प्रत्याशी संजय कुमार सिंह, नेपाली कांग्रेसका मेयर प्रत्याशी मोहन पाण्डेय र नेकपा एमालेका मेयर प्रत्याशी राजेन्द्र साह प्रत्यक्ष रुपमा सहभागी भएका थिए । कार्यक्रम संचालन र सहजकर्ताको रुमपा मुलुक टाइम्सका सम्पादक/ प्रकाशक संजीव सिंह र स्थानीय ब्यूरो प्रमुख राम अधार साहले भुमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रमको सुरक्षा प्रबन्ध प्रहरी चौकी मनराकट्टीका प्रमुख हृदयेश राउतले सम्हालेका थिए । साथै कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा, महिला, बुजुर्ग लगायत कार्यकर्ता र नेताको बाक्लो उपस्तिथि रहेको थियोे । कार्यक्रममा विशेष कारणबस जसपाका मेयर प्रत्याशी महेन्द्र राय अनुपस्थित रहे ।

निवर्तमान मेयरले पुनः मेयरमा जिते आफ्नो कार्यकालमा अधुरा रहेको कार्यलाई सर्वप्रथम पूरा गर्ने बताए । आफुले बिगतमा गरेको बिकासलाई आफ्नो मजदुरी ठान्दै त्यसवापत पुनः अफुलाई मत दिन आग्रह गरे। यसैगरी नेपाली कांग्रेसका मेयर प्रत्याशी मोहन पाण्डेले आफु जितेमा शिक्षा, स्वास्थ, रोजगारी, खेलकुद र कलाको क्षेत्रमा बिकास गर्ने प्रतिबद्धता जाहेर गरे । युवाको लागि हुने सबैखाले सहभागिता र समृद्धिमा नयाँ आयम थप्ने बताए । यसैगरी नेकपा एमालेका मेयर प्रत्याशी राजेन्द्र साहले शिक्षा, सरोकार, सुसासन र सुरक्षामा विशेष जोड दिने बताए ।

कार्यक्रममा जनताको सवालको जवाफ पनि क्रमश तिनै मेयरका प्रत्याशीले दिए । दुई घन्टाको लागि निर्धारण गरिएको कार्यक्रम झन्डै तीन घन्टा चलेको थियो । जनसरोकारका सवालहरु प्रत्यक्षरुपमा प्रतिनिधिसंग खुल्ला रुपमा बहस गर्न पाएकोमा नगरवाशी हर्षित एवं उत्साहित भएका थिए । यश किसिमको प्रत्यक्ष बहस आगामी दिनमा अझ होस भन्ने जनताले अपेक्षा गरेको पनि मुलुक टाइम्ससंग साझा गरे ।