
मुलुक डेस्क, मकवानपुर । २०७९ बैशाख १९, सोमवार
जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभा हलमा निर्वाचन आचार संहिता पालना नभएको भनी परेको उजुरीको बारेमा सर्वदलीय छलफल भएको छ।
सबै दलका सहभागी प्रतिनिधिहरूले आचार संहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता गरे तापनि सडकमा ठूला दलहरूले आचार संहिता पालना नगरेको दृश्य जहीतही देख्न सकिन्छ। दलहरूले झण्डा, व्यानर बोकेर लाउड स्पिकरबाट गीत र प्रचार सामग्रीहरू बजाउँदै हिंडेका छन्।
बैठकमा सहभागी नेपाल विवेकशील पार्टीका हेटौंडा उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्षको उम्मेदवार कृष्णदेव भण्डारीले भने, “मैले पढेको छैन्, मलाई थाहा छैन् भन्ने बहानामा निर्वाचन आचार संहिता उल्लंघन गर्न पाइदैन।” भनेर आफ्नो मन्तव्य राखेका थिए । उनले नामै तोकेर भने, “जिल्लामा सक्रिय दलहरूमध्येमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), र राप्रपाले ठूलाठूला झण्डाहरू गाडीमा बांधेर निर्वाचन सम्बन्धी गीत र अन्य प्रचार सामग्रीहरू बजाउँदै टोलटोलमा गाडीहरू कुदाइरहेका छन्। यस्ता आचारसंहिता विपरित क्रियाकलापहरू रोक्न जिल्ला प्रशासन कार्यालय मकवानपुर, मुख्य निर्वाचन अधिकृतको कार्यालय, हेटौंडा र जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अबिलम्ब कानुनी प्रक्रिया अगाडि बढाउनु पर्दछ।” उनले थपे ” आफैले निर्वाचन आयोगमा गई पूर्ण रूपमा पालना गर्छु भनी हस्ताक्षर गरेको आचार संहिताको उल्लंघन गरेर दलहरूले आफ्नो अनैतिकता र निर्लज्जताको प्रदर्शन गरेका छन्।
शिक्षक तथा कर्मचारीहरूले आचार संहिताको बेवास्ता गरी प्रचारप्रसारमा हिंडेका र सामाजिक संजालमा आफ्नै वालबाट उम्मेदवारहरूको पक्षमा भोट मागेको तथा मेरो पार्टी भन्दै मतदातालाई प्रभावित पार्ने काम गरेको उजुरी परेकाले प्रमाणका आधारमा विभागीय कारवाही अगाडि बढाउने कुरा प्रमुख जिल्ला अधिकारीले बैठकमा जानकारी गराए। साथै उनले दलका नेताहरूले पनि सरकारी कर्मचारीहरूलाई चुनावी अभियानमा नहिँडाउन सुझाव दिए।