
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २१, सोमवार
काठमाडौंको काष्ठमण्डप सोमबारदेखि सर्वसाधारणका लागि खुल्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै विशेष कार्यक्रमबीच यसको लोकार्पण गर्दै छिन । २०७२ सालको भूकम्पबाट पूर्णतः क्षति पुगेको काष्ठमण्डपलाई पूर्ववतः स्थितिमा पुगेपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
नेपाल भाषामा काष्ठमण्डपलाई ‘मरुसतः’ भनिछ । बेलायतको डरहम विश्वविद्यालयले गरेको अध्ययनअनुसार काष्ठमण्डपको इतिहास कम्तीमा सातौं शताब्दीको हाराहारी हुने अनुमान छ । यसको पुनर्निर्माणमा शतप्रतिशत नेपालकै पारम्परिक मौलिक प्रविधि प्रयोग गरिएको छ र यसमा संलग्न सबै कालिगढी पनि नेपाली नै रहेका छन् । यसको पुनर्निर्माण २०७५ सालदेखि सुरु भएको हो ।
लकडाउनको समय समेत गरेर तीन वर्ष आठ महिनाभित्र काष्ठमण्डको पुनर्निर्माण पूरा भएको थियो । यसका लागि काठमाडौं महानगरपालिकाले विभिन्न चरणमा गरेर ११ करोड ५० लाख रुपैयाँ प्रदान गरेको थियो । पुनर्निर्माण समितिका अध्यक्ष तथा सांसद राजेश शाक्यका अनुसार सिकर्मी र डकर्मीको कामका लागि भक्तपुर तथा तामाका कामका लागि ललितपुरका कालीगढीलाई बोलाइएको थियो ।