मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १३, आइतवार

ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित बैंक सञ्चालक तथा बैंकका उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा क्यालेण्डर सार्वजनिक गरेको छ् ।

ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेण्डरमा पनि बैंकले नेपालमा रहेका बिभिन्न जातजातीका गरगहना र पहिरनलाई क्यालेण्डरमा समाबेश गरेको थियो । आउँदो नयाँ वर्षका लागि मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरिएको छ । मिथिला कलाको इतिहास त्रेतायुग कालिन रहेको छ । यो कला आफैमा मानव जीवनको जन्मदेखि मृत्युसम्मको सम्पुर्ण अवस्था, उत्सव, रितिरिवाज, चाडपर्व, रहनसहन, खानपान लगायत हरेक बिधिबिधानलाई रङ मार्फत कोर्ने र उतार्ने गर्दछ । नेपाली कला क्षेत्रमा मिथिला कला प्राचीन एवं समृद्ध कला हो । मल्लकालमा यो कला राज्यको राजकीय कला थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उनले उल्लेख गरे । उनले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

करिब ४ दशकदेखि चित्रकलामा सक्रिय कलाकार अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्किने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी गराए । नेपालको मौलिक मिथिला कला तराईको घरघरमा संस्कृतिका रुपमा रहे पनि मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्न आफूहरुको प्रयास रहेको उनको भनाइ थियोे । “छरिएर रहेका मिथिला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो”, उनले भने ।

कार्यक्रममा कलाकार साहले अमेरिकबाट भिडियो सन्देशमार्फत मिथिला कलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए भने अर्का कलाकार ठाकुरले आफूहरुको सृजना र संस्कृतिलाई मुलुकभर पुर्याएकोमा कृतज्ञता व्यक्त गरिन । सो अवसरमा बैंक अध्यक्ष ढकालबाट कलाकारद्वयलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *