
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०७, सोमवार
नेपाली राजनीतिका शिखर पुरुष एवं राजनीतिज्ञ गिरिजा प्रसाद कोइरालाको आज १२औं स्मृति दिवस हो । ८५ वर्षीय कोइरालाको मृत्यु २०६६ साल चैत्र ०७ गते मध्यान्ह १२ बजेर १० मिनेटजाँदा भएको थियो ।
नेपाली कांग्रेसका तात्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो । बाबु कृष्ण प्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मेका कोइरालाको मृत्यु ८५ वर्षको उमेरमा २०६६ साल चैत्र ०७ गते भएको थियो । कोइराला चारपटक प्रधानमन्त्री भएका थिए ।
कोइराला सन १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म प्रधानमन्त्री भएका थिए । कोइरालका दुई दाजुहरु वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाले सुष्मा कोइरालासित विवाह गरेका थिए । सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् ।
राजनीतिक यात्रा २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिन थाल्यो । २००८ सालमा कोइराला नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहे । १९६७ मा उनको रिहाइ पछि गिरिजा प्रसाद कोइराला पार्टीका कार्यकर्ताहरू र नेताहरूसँग भारततिर निर्वासित भए र २०३५ सालमा नेपाल फर्किए । गिरिजा प्रसाद कोइराला २०३१ साल देखि २०४७ साल सम्म नेपाली काङ्ग्रेस पार्टीको महासचिव भए ।
२०४६ सालको जनआन्दोलन पश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा कोइराला मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भए । २०६३ बैशाख ११ को लोकतान्त्रिक आन्दोलन पछि प्रतिनिधि सभाको पुनर्बहाली पछि सात दलका नेताहरूकोद्वारा गिरिजा प्रसाद कोइराला पुन नेपालका प्रधानमन्त्री बनाईए ।
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी नेताको पुत्ला दहन, सडक तथा सदनमा विपक्षीको चर्को विरोध होस् वा मिडियामा भएका आलोचना होस सम्भवत कोइराला कै भएको हुनुपर्छ । मिडिया र सार्वजनिक मञ्च भन्दा व्यक्ति व्यक्तिसँग गरिने डिल र संगठनका बलमा परिस्थित आफ्नो अनुकुल बनाउने कोइरालाले जीवनमा लामो भाषण कहिलै गरेनन् । छोटो भाषण गर्ने कोइरालाको जीवनको उत्तरार्ध मिडियाका लागि सबैभन्दा आकर्षणको व्यक्तिका रुपमा वित्यो ।
२०४८ पछि सत्ता राजनीतिमा उदाएका गिरिजा प्रसाद करिव एक दशकसम्म सर्वाधिक आलोचना हुने पात्र पनि बने । सार्वजनिक छवि आलोचित हुँदाहुँदै पनि संगठनभित्र लोकप्रिप रहिरहन सक्नु कोइरालाको महत्वपूर्ण र रहस्यमयी विशेषता थियो । २०५९ सालमा राजा ज्ञानेन्द्रले शक्तिअभ्यास शुरु गरेपछि २ वर्ष अन्योलपूर्ण विताएका गिरिजा प्रसादले त्यही २ वर्षको बदलामा राजतन्त्रको जरो उखेलेर छोडिदिए ।
कोइरालाको अगुवाइमा आएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानले मुख्य उपलब्धिका रुपमा स्वीकार गरेको छ । धर्मनिरपेक्षतालाई उपलब्धि मान्न नसकिने बहस अहिले उनकै पार्टी कांग्रेससहित देशमा चलिरहेकै छ । तर, बाँकी विषयहरु उपलब्धि मानिदासम्म कोइरालाका लागि नेपाली राजनीतिमा ‘शिखर पुरुष’को उपाधीमा ‘च्यालेञ्ज’ गर्ने अर्को पात्र देखिएको छैन ।