बद्रीनाथ झा | जनकपुर | माघ १७, २०७८

जनमत पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सरकारले स्थानीय तहको मिति तोक्ने तयारी गरिरहेका बेला जनमत पार्टीले विदेशमा रहेका नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेको हो । अध्ययन र रोजगारीको सिलसिलामा विभिन्न देशमा लाखौंको संख्यामा नेपाली रहेको उल्लेख गर्दै जनमत पार्टीले तीन तहकै निर्वाचनमा उनीहरुलाई मतदान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको हो । ‘विदेशमा रहेका नेपाली मतदाताहरुको नोट (रेमिट्यान्स) चल्ने तर भोंट नचल्ने?’ जनमत पार्टीका नेता बीपी साहले प्रश्न गर्दै भने, ‘रेमिट्यान्सबाट मुलुक चलेको सर्वविदितै छ, उहाँहरुले गरेको मेहनतबाट देशको ढुकुटी भरिएको छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई पनि आफ्नो जनप्रतिनिधि चयन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।’ २०७८ को जनगणना अनुसार करिब २२ लाख नेपाली विदेशमा रहेका छन् । गैरआवाशीय नेपाली संघ र अन्य संस्थाहरुले भने विदेशमा रहेका नेपालीको संख्या करिव पचास लाख रहेको दावी गर्दै आएको छ । ‘यति ठूलो संख्यामा बाहिर रहेका नेपालीहरुलाई मतदानबाट बञ्चित गर्ने कुरा गलत हो, सरकारले उनीहरुलाई पनि मतदान गर्ने अधिकारबाट बञ्चित हुन नदिन आवश्यक तयारी गर्नुपर्छ,’ उनले भने । नेपालको संविधानले हरेक नागरिकलाई बराबर अधिकार दिएकोले बिदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउनका लागि जनमत पार्टीले माग गर्दै आएको नेता साहले जनाए।

विदेशमा रहेका नेपालीहरुलाई मतदान प्रक्रियामा सहभागी गराउन कठिनाई हुने भन्ने प्रश्नमा नेपालमञ्चसँग कुराकानी गर्दै नेता साहले भने, ‘सरकारले चाहेको खण्डमा कुनै कठिनाई हुँदैन। यसअघि गैर आवासीय नेपाली संघलगायतका कयौं संस्थाहरुले अनलाइनमार्फत मतदान गराएकै हो। होइन भने नेपालीहरु रहेको देशको दूताबासबाट पनि मतदान गराउन सकिन्छ।’ यसअघि जनमत पार्टीले निर्वाचन आयोगलाई पत्राचार गर्दै बैदेशिक रोजगारमा रहेका योग्य नेपाली मतदाताहरुलाई मतदानको व्यवस्था गराउन माग गरेको थियो। उक्त मागबारे निर्वाचन आयोगबाट कुनै प्रतिक्रिया नआएको साहले बताए। बैदेशिक रोजगारीमा रहेका नेपाली मतदाताहरुप्रति प्रमुख राजनीतिक दलहरुले चासों नदिएको नेता साहको आरोप छ । ‘सरकारमा रहेका दलहरुले चाहेको खण्डमा तत्कालै मतदानको व्यवस्था गराउन सकिन्छ तर उहाँहरुको चाहना नै छैन’ उनले भने, ‘अहिले पनि समय छ, सरकारले चाहेको खण्डमा विदेशमा रहेका नेपाली मतदाताहरुलाई मतदानमा सहभागी गराउन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *