
मुलुक डेस्क, रामेछाप । २०७८ माघ ०४, मंगलवार
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापकाे चौथो बैठकबाट जिल्ला कार्यसमितिका सदस्य लवबहादुर थापामगरलाई काेषाध्यक्ष चयन गरेकाे छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको इतिहासमै पूणर्रुपमा गठन हुन नसकेको शाखाहरु पहिलो पटक १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित पूणर्बहादुर तामाङ “कान्छाराम” द्वारा गठन गरिएको छ । जिल्लाभरकै पालिकाहरुमा काँग्रेसको वस्तुस्थिति बुझ्न र त्यसको समाधानकालागि पालिकास्तरीमा जिल्ला कार्यसमितिको बैठक एवं छलफल गरेर उदाहरणीय कार्य पनि सभापति कान्छारामले सुरुवात गरेका छन् ।
रामेछाप नगरपालिकाको साँघुटार बजारमा सम्पन्न चौथो बैठकले साँघुटार बजारलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने पहलका साथै आम नागरिककालागि कोभिड महामारी विरुद्ध बुस्टर डोज लगाउन सरकार समक्ष छिटै पहल गरिने निणर्य गरेको छ । यसका साथै उक्त अवसरमा वडा नं. ३, लक्ष्मीबासका अन्य पार्टीका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए साथै सो वडाका दलित र पिछडा वर्गको जीवनस्तर सुधारकालागि परम्परागत प्रचलित हाते उपकरणको ठाउँमा आधुनिक उपकरण खरिद गरि हस्तान्तरण गर्ने पार्टी सभापतिले बताए ।

यसैगरी चौथो बैठकबाट सर्वसम्त ढंगले निम्नानुसारका समिति र शाखा गठन गरि जिम्मेवारी प्रदान गरेकाे छ । जिल्ला अनुशासन समितिको संयाेजकमा कमलप्रकाश सुनुवार, जिल्ला प्रशिक्षण शाखाको संयाेजकमा पार्टी उपसभापति नवराज थाेकर, संगठन शाखा संयाेजकमा सीताराम कार्की, जिल्ला सम्पर्क समिति समन्वय शाखाको संयाेजकमा घननारायण श्रेष्ठ (घनश्याम), सहसंयोजक सबिन बि.क., सचिव शिव बस्नेत, लेखा समिति संयाेजकमा ढाकलबहादुर थापा जिल्ला प्रचारप्रसार शाखा संयाेजकमा हिमाल ढुंगेल, अभिलेख शाखाको संयाेजकमा सुमन्तकुमार कार्की, विकास शाखा संयाेजकमा गुन्जबहादुर कार्की, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयाेजकमा चिना खड्का कार्की, जिल्ला कार्यक्रम तथा समन्वय शाखा संयाेजकमा कमान खड्का ‘दिपेन्द्र’, जिल्ला युवा तथा खेलकुद शाखा संयाेजकमा जीतबहादुर कटुवाललाई चयन गरेको छ । नेपाली काँग्रेस रामेछाप कार्य समतिले प्रत्येक १५-१५ दिनमा पालिका स्तरीय बैठक गर्दै आएको छ । आँउदो बैठक माघ २२ गते सुनापति गाउँपालिकामा राख्ने निणर्य गरेको सम्पर्क समिति समन्वय शाखाका संयोजक घन नारायण श्रेष्ठ (घनश्याम) ले बताए ।
