बद्री नाथ झा, जनकपुरधाम । २०७८ माघ ०३, सोमवार

जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन्

सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।

दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन । स्थायी राजधानीको टुंगो लगाएसंगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।

जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।

वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *