
मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०१, शनिवार
प्रत्येक वर्ष माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व मनाइन्छ। करिब ७८७ नेपाल संवत भन्दा पहिलेदेखि नै सम्यक दान मनाउँदै आएको हो ।
सम्यक दान पर्वमा भक्तपुरस्थित क्वाठण्डौं प्रशन्नशील महाविहार, साकोठाको चतुरब्रम्ह महाविहार, गोल्मढीको मंगल धर्मदीप विहार, इताछेंको जयकीर्ति महाविहार र भार्वाचोको बौद्ध समकृत विहार(सुक्रवर्ण महाबिहार)का पाँच दीपंकर बुद्ध र प्रशन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताको कुल देवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरू) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्ति महाविहार (ठिमी) का उपाध्याय गुरुजू एवं मूल पुरोहित गुरुजुहरूको सहभागितामा सम्यक दान पर्वको सुरुवात गरिन्छ।

चतुरब्रम्ह महाबिहारका बज्राचार्य जय्ररत्नले यस पर्वको सुरुवात गरेको मान्यता रहीआएको छ। नःपुखुको पश्चिम थथुवहिको परिसरमा रहेको भुइख्याल क्षेत्रमा सम्यक भोजन तथा धर्तीमा उब्जनी भएका सबै व्यञ्जनको विशेष परिकार (जस्तै:- रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु) बनाएर चढाउने र दक्षिण दिने प्रचलन रहेको छ। सम्यक महादान व्यवस्थापन सहयोग समितिले यस सम्यक महादान पर्वलाई व्यवस्थित र भव्य रुपमा संञ्चालन गर्दैआएको छ।
कपिसा अवदान सूत्र अनुसार दानपारमिताको विविध दान मध्ये उच्च दान नै सम्यक दान हो भने स्वयम्भू भगवान सहित सम्पूर्ण बुद्ध बोधिसत्वहरूलाई विराजमान गराई प्रब्रजित श्रध्येयहरूलाइ प्रदान गरिने दानलाई पनि सम्यक महादान भनिन्छ।
सम्यक महादान काठमाडौंमा १२वर्षमा एकपटक स्वयम्भूको भुइख्यालमा हुन्छ, ललितपुरमा ५ वर्षमा एकपटक नागबहाल हुन्छ र भक्तपुरमा प्रत्येक वर्ष मनाईन्छ।।