बद्री नाथ झा, जनकपुरधाम । २०७८ पौष ३०, शुक्रवार

किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा महारैली निकालेको छ । जनमत पार्टीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाहरूमा रैली निकालेको हो । सिरहामा निकालिएको रैलीमा पार्टीका अध्यक्ष डा. सीके राउत पनि सहभागी भएका थिए ।

जनकपुरधाममा रैली रामानन्द चौकबाट निकालिएर नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । नगरपरिक्रमा पश्चात रैली जनक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले अहिलेका सत्ताधारी दलहरू किसान विरोधी रहेको आरोप लगाए।

उनले अन्नदाताहरूलाई पीडा दिँदै आएका यी दलहरूलाई अब किसानहरूले पनि नछाड्ने चेतावनी दिए । किसानहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पनि स्पष्ट पारे । त्यस्तै, जनमत पार्टीकी सचिव अनिता साहले किसानलाई निरुत्साहित गर्ने काम मात्र सरकारले गर्दै आएको बताईन । उनले सरकारको गलत नियत र नीतिका कारण किसानका सन्तानहरू विदेश पलायन हुन बाध्य भएको पनि बताईन ।

त्यसैगरी, जनमतका नेता बीपी साहले जनमत पार्टी जनताका मागहरू सम्बोधन गर्नका लागि स्थापना भएको बताए । किसानहरूलाई पनि पेन्सनको व्यवस्था हुनुपर्ने उनले बताए । रैलीमा सहभागीहरूले किसानहरूका माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् ।

जनमत पार्टीले ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।उनीहरूले किसानका लागि पेन्सन, बालीनालीको स्वतः वीमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बालीक्षतिपूर्ती वापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *