मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २७, मंगलवार

प्रथम महिला पत्रकार सहिद उमा सिंहको हत्याको आज १३ वर्ष पूरा भएको छ् । सिरहा जिल्लाको मिर्चैया निवासी स्वर्गीय सिंहको यस अघि बुबा रंजित सिंह र दाजु संजय सिंहलाई माओवादीले हत्या गरेको थियो ।

आमा सुशिला सिंहसँगै बस्दै आएकी उमा सिंह पत्रकारिताको क्रममा जनकपुरको रजौलमा वि. स. २०६५ साल पौष २७ गते हत्या भएको थियो । राती करिब ७ः३० बजेको समयमा गोविन्द कार्कीको घरमा डेरा लिएर बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो ।

सिंहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाईते बनाएका थिए । आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाममा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौ लैजादा बाटोमै मृत्यु भएको थियो ।

सिंहलाई उनकै भाउजू ललिता सिंहले स्थानीय माओवादी नेता श्रवण यादवसंग मिलेर धनको लोभमा हत्या गराएको ठहर छ । यता, धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाएको छ । यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए । धनुषा प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत् ज्यान सम्बन्धी महलको १३ र ४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो ।

उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरका श्रवणकुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

अदालतले २०६८ जेष्ठ २६ मा उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । ललिता सिंह रिहा भएर मिर्चैया बस्दै आएका छन् । त्यसैगरी अदालतले श्रवण कुमार यादवलाई सफाई दिएर जलेश्वर कारागारबाट थुना मुक्त भएर अहिले मिर्चैया नगरपालिकाको मेयर बनेका छन् ।

उमाको आमा सुशिला सिंहले केही जग्गा उमाकै नाउँमा गरिदिने र विहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले उमाको नाउँमा जग्गा नर्गनु भन्दै विरोध गरेकी थिईन् । ललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।

उमा सिंहकी आमा सुशिला सिंह एकल जीवन बाच्न कठिनाई भरहेकोले भारतमा बस्दै आएका छन् । उमा सिंहकी भाउजु जेल मुक्त भएपछि सुशिला सिंह करिब दूई बर्षदेखि नेपाल आएका छैन । ज्यान सुरक्षाको सुशिला सिँहले जिल्ला प्रहरीमा निवेदन दिएपनि हालसम्म त्यसको कुनै सुनवाइ छैन । सुशिला सिंहको अवस्था कठिन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *