
राजन झा,जनकपुरधाम । २०७८ पौष १६, शुक्रवार
मुूख्यमन्त्री लालबाबु राउतले अन्न भण्डारको रुपमा रहेको प्रदेश २ को बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषण सम्बन्धि जानकारीको आभाव प्रमुख कारण रहेको बताएका छन ।
राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएको हो ।
उनले अन्नको भण्डार मात्र नभई, दुध, फलफुल लगायतका खाद्य सामग्रीको पर्याप्तता हुँदाहुँदै उपयोग सम्बन्धि जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुखद रहेको बताए ।
पोषण सम्बन्धि प्रदेशमा संचालित कार्यक्रमहरु व्यवहारमा उत्रिन नसकेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पोषण सम्बन्धि कार्यक्रमलाई जनस्तर सम्म पुर्याउन सरोकारबलाहरुलाई निर्देशन समेत दिए ।
पोषण सम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाएपनि सन्तोषजनक छैन । कार्यक्रममा तिब्रता ल्याउन जरुरी रहेको मुख्यमन्त्री राउतले बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा , संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितले पोषणको अवस्था बारे आ आफ्नो प्रस्तुती दिएको थियो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य प्रमिला दास, शारदा थापा, सरस्वति चौधरी, संविधान सभा सदसय डा. विजय कुमार सिंह सहितको सहभागिता रहेको थियो ।