मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बुधवार

मिथिला चित्रकला चित्रण भएको १७ वटा हुलाक टिकट नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको छ । फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलो पटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडीजी)हरु चित्रण भएको १७ वटा हुलाक टिकट जारी गरेको छ ।

मन्त्रालयमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०७८ विशेष समारोहमा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले ’‘मिथिलामा एसडीजीहरु’ र्शीषकका साथै अन्य १४ हुलाक टिकटहरु औपचारिक रुपमा सार्वजनिक गरेका छन् ।

समारोहमा र नेपालस्थित संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आवासीय संयोजक रोबर्ट कास्का सहभागी थिए ।सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले भने, “एसडीजी हुलाक टिकटले एसडीजी हासिल गर्नेतर्फ नेपालको प्रतिबद्धतालाई पुनः जोड दिँंदै नेपाली कला क्षेत्रप्रति सचेतना पनि अभिवृद्धि गर्नेछ ।”

हुलाक टिकटका रुपमा जारी भएको मिथिला चित्रकलामा दिगो विकास लक्ष्यहरुको मूल सिर्जना जनकपुरका स्थानीय महिला कलाकारहरुले वि.सं. २०७१ मा गरेका हुन्, जुन कार्य नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र जनकपुर महिला विकास केन्द्रबीचको सहकार्यमा भएको थियो ।

कार्यवाहक राष्ट्रसङ्घीय आवासीय संयोजक रोर्बट कास्काले भने, “एसडीजी हुलाक टिकट जारी हुने कार्यले नेपालमा दिगो विकास लक्ष्यहरुलाई स्थानियकरण गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासमाथि प्रकाश पार्नुका साथै दिगो विकास लक्ष्यहरुलाई सन् २०३० भित्र हासिल गरिसक्ने नेपालको प्रतिबद्धता र तत्परतालाई प्रतिबिम्वत गर्दछ । यससम्बन्धमा प्रगतिलाई द्रुत गति प्रदान गर्ने नेपाल सरकारको प्रयासहरुलाई नेपालस्थित संयुक्त राष्ट्रसङ्घ सराहना गर्दछ।”

दिगो विकास लक्ष्यहरु सबैका लागि पहुँचयुक्त र बुझ्न सकिने बनाउनका लागि स्वदेशी कला प्रयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजकको कार्यालयले १७ वटा एसडीजी प्रतिकचिन्हरुलाई स्थानीय कलामार्फत स्थानियकरण गर्ने कार्यको थालनी गरेको छ ।

मिथिला कलामा १७ वटा एसडीजी प्रतिकचिन्हहरुको सिर्जना पछि ती चित्रकलाहरु न्यूर्योकस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले सन् २०१९ मा आयोजना गरेको ‘एसडीजीहरुका लागि कलाः मिथिला सम्पदा’ शीर्षकको प्रदर्शनीमा र न्यूर्योकस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित मिथिला महोत्सवमा पनि सहभागी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *