
बद्री नाथ झा, जनकपुर । २०७८ पौष ०९, शुक्रवार
नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण यादव विजयी भएका छन् । विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोजय यादवलाई १४१ भोटले पराजित गर्दै कृष्ण यादव विजयी भएका हुन् । कृष्ण यादवले ९९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् ।
३० मत बदर भएको छ ।
रौतहटका कांग्रेस सभापति कृष्ण यादव प्रदेश २ को सभापतिमा निर्वाचित भएका हुन् भने रामसरोज कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भोतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेलपक्षको पनि समर्थन रहेको थियो ।
प्रदेश २ मा ६७ पदका लागि बिहीबार बिहान ९ बजेदेखि राति ८ बजेसम्म मतदान चलेको थियो । जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो ।