
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०१, बिहीवार
गगन थापाको जन्म २०३३ सालमा काठमाडौँमा भएको हो। उनी विद्यार्थी २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। राजनीतिमा लाग्ने उनको सोँचाइ पनि थिएन। त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी विद्यार्थी राजनीतिमा लागे। विसं २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनले राजनीतिमै सक्रिय हुने अठोट गरे। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बने। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो।
पहिलो पटक २०५१ सालमा हिरासत बसेका थापालाई २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा उनीसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन। उनी पक्राउ पर्दै छुटे।
दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली कांग्रेसका युवा नेता गगन थापा एक सभासदको रूपमा सदा चर्चाको शिखरमा रहे। समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला कांग्रेस पार्टीमा गणतन्त्रको आवाज प्रखररूपमा उठाउने युवाको रूपमा परिचित छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थापालाई नेपाली कांग्रेसको भाबी सभापतिको रूपमा पनि हेरिन्छ। उनी विसं २०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ मन्त्री बनेका थिए।