मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०१, बिहीवार

नेपाली कांग्रेसको १४औं महाधिवेसनमा महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनामा गगनले सर्वाधिक ३०२३ मत ल्याएर विजयी भएका हुन्। उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। यसैगरी विश्वप्रकाशले १९८४ मत ल्याएर विजयी भए । निर्वाचन समितिका अनुसार ४३ मत वदर भएको छ। कुल ४ हजार ६८२ मत खसेको थियो।

गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्। गगनले भने मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए। शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो।

महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले १५ सय ५६, प्रदिप पौडेलले १३ सय ९३, डा. मिनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे। यस्तै, महामन्त्रीका अर्का उम्मेदवार राजारामले १०६ मत पाए।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्।

यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *