
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २१, मंगलवार
नेपाल उद्योग परिसंघ (सीएनआइ) ले मेक इन नेपाल अन्तर्गत स्वदेशी अभियानको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सीएनआइले वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। त्यसैगरी, सीएनआइले स्वदेशीको लोगो पनि सार्वजनिक गरेको छ।
मेक इन नेपाल एवम् स्वदेशी अभियानले उत्पादनमूलक अर्थतन्त्रको विकास विस्तार तर्फ अग्रसर गराउने सीएनआइका अध्यक्ष विष्णुकुमार अग्रवालले जानकारी दिए।
यस अभियानले वार्षिक एक लाख ५० हजार रोजगारी सिर्जना, एक हजार उद्योग वार्षिक दर्ता गराएर संचालन गर्ने उद्देश्य रहेको अग्रवालले बताए।
जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान पाँच वर्ष भित्र २२ प्रतिशत पुर्याउने र एक खर्ब रुपैयाँको निर्यातलाई चार खर्ब पुर्याउने उनले बताए।
यस्तै, नेपालमा उत्पादन हुने सामाग्रीहरुमा स्वदेशीको लोगो हुने बताइएको छ। सीएनआइले स्वदेशीको लोगो पाउन गुणस्तरलाई पहिलो प्राथमिकता दिने जनाएको छ। नेपालमा न्यूनतम २० प्रतिशत भ्यालु एडिसन गर्ने सामाग्रीहरुले मात्रै स्वदेशीको लोगो पाउने सीएनआइले जनाएको छ।
कृषि उत्पादनहरुको हकमा सीएनआइले नेपालमै उब्जनी भएको हुनुपर्ने मापदण्ड तोकेको छ। आयात गरेर आएका कृषि उत्पादन प्याकेजिङ गरेर बिक्री गर्नेले पनि स्वदेशीको लोगो नपाउने बताइएको छ।
स्वदेशीको प्रणालीमा विभिन्न ४० कम्पनीहरु जोडिएको सीएनआइले जनाएको छ। केही समय भित्रै नेपाली उत्पादनहरुमा स्वदेशीको लोगो देख्न सकिने बताइएको छ। गत वर्ष फागुनमा सीएनआइले मेक इन नेपाल अभियान घोषणा गरेको थियो।