
संजीव सिंह, ललितपुर । २०७८ मंषिर २०, सोमवार
जिउँदो इतिहास, युग पुरुष एवं वाङ्मय शताब्दी व्यक्तित्व डा. सत्यमोहन जोशीको लाइभ पोट्रेट सम्बन्धि क्यानभासमा “सत्यमोहन बा” को प्रदर्शनी आजबाट सुरुवात भएको हो। ललितपुरको पाटनस्थित बखुम्बहालमा सत्यमाेहन जाशीकाे निवासमा रहेकाे लाेक साहित्य भवनमा क्यानभासमा “सत्यमोहन बा” भन्ने शिर्षकमा प्रदर्शनीको सुरुवात भएको हो ।

१०३ वर्षीय युग श्रष्टा सत्यमोहन आफैंमा एक राष्ट्रिय धरोहर, सङ्ग्रहालय एवं इतिहास हुन् । शताब्दीपुरुष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरे । जोशीले भने, “योङ पिकासो जस्ता अन्य संस्थाले पनि गाउँगाउँमा पुगरे यस्ता सिर्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी रहेको उल्लेख गरे।”

तीन पटकका मदन पुरस्कार विजेता सत्यमोहन सम्वन्धी प्रर्दशनीको उद्घाटन प्रमुख अतिथिको रुपमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले गरिन् । झन्डै आठ दशक लामो खोज, अनुसन्धान एवं अनुभव बटुलेका “बा” को कार्यक्रममा आउनु सौभाग्य भएको बताइन् मन्त्री भुसाल । मन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहनका बारेमा तयार पारिएका तस्विर अंकित पुस्तक पुस्तकालय, अभिलेखालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छिन् । सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगततर्फबाट रु. ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आयोजक संस्था योङ पिकासोका निर्देशक तथा कलाकार अजय देशारले कला प्रर्दशनीमार्फत संस्कृतीविद् जोशीको पोट्रेट प्रर्दशनी गर्न पाउदा अपार हर्स एवं गौरवको महसुस भएको बताए । “बा” कै निवासमा कार्यक्रम गर्न पाउँदा साच्चिकै श्रष्टाकाे सम्मान भएको पनि बताए । दुई वर्षअघि माघ १५ गते कोरिएका ४ सयमध्ये छानिएका ४० चित्रको सङ्ग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी मंषिर २४ गतेसम्म रहने छ् ।
ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै थप बढावा गर्न जरुरी रहेको औल्याए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा-प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो प्रदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखे । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अजरमान जोशीले पाठ्यक्रममा पनि सत्यमोहन जोशीको बारेमा विषयवस्तु समावेश हुनु पर्ने बताए ।

पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रिलिकको प्रयोग गरेर कोराएको बताए । उनले भने, “चित्रकलामा भाग लिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने हामी चाहन्छाै ।” जोशीका सो चित्र बिक्री गरेर सङ्कलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँगाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी दिए ।
कार्यक्रममको संचालन बि एम आचार्यले गरेको थियो भने ललितपुरका साथै गोदावरी र महालक्ष्मी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिका साथै समाजसेवी निर्मला क्षेत्रीलगायत बुद्धिजिवि एवं पत्रकारको पनि उपस्थिति रहेको थियो ।