मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०८, मंगलवार

सर्वाङ्गीण विकासका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ जस्ता छोरीमैत्री शैक्षिक क्रियाकलापको आवश्यकता रहेकाे राष्ट्रपति विद्यादेवी भण्डारीले बताईन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘समाजिकस्तरमा कायम रहेको अन्धविश्वासलाई चिर्नका लागि प्रदेश २ सरकारले सुरु गरेको बेटी पढाउ बेटी बचाउ अभियान प्रशंसाको विषय बन्दै गएको छ । यसलाई सरकारले राष्ट्रियस्तरको कार्यक्रमका रूपमा देशैभर अगाडि बढाउनुपर्ने आवश्यक देखिन्छ ।

महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्दै उहाँले तराई-पहाडको दिगो विकासका निम्ति चुरे संरक्षण आवश्यक रहेको बताईन् ।

कृषि क्षेत्रलाई संरक्षण गर्नसके युवा विदेश पलायन हुनबाट रोक्नुको साथै स्वावलम्बी र स्वाभिमान बनाइ अर्थतन्त्रको क्षेत्रमा समृद्धि गर्नका निम्ति सहयोग पुग्ने राष्ट्रपति भण्डारीले उल्लेख गरिन ।

कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सङ्घीयताकाे बेस बनाउन सफल भएको धारणा राखे । आउँदा दिनमा क्रमिक रूपमा सुधार गर्दै सङ्घीयतालाई अगाडि बढाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिनुभयाे । उनले भने, ‘महिलालाई सशक्त बनाउन प्रदेश सरकार आरक्षण ऐन ल्याइएको हो । याे ऐनलाई टेकेर प्रदेश सरकारले लोक सेवाको परीक्षामा ५० प्रतिशत आरक्षणको व्यवस्था ल्याएको हो ।’

यसैबीच कार्यक्रममा मटिहानी नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरू विनोद मण्डल, नरेश महतो र इन्जिनियर विमलेश साहलाई राष्ट्रपतिले सम्मान गरेकाे हाे । कार्यालयमा उत्कृष्ट काम गरेबापत उनीहरूलाई नगरपालिकाको कार्यालयले सम्मान गरेकाे मेयर हरिप्रसाद मण्डलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *