
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १०, शुक्रवार
लुम्बिनी। जनमत पार्टीले ‘‘जनमत माटी यात्रा रुपन्देहीको लुम्बिनीबाट शुभारम्भ गरेको छ । डा. चन्द्रकान्त राउत (सिके राउत) को नेतृत्व जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरि शान्तीको मुहान लुम्बिनीबाट आजदेखि ‘‘जनमत माटी यात्रा’’ सुरु गरेको हो ।
मेचीदेखि महाकालीसम्म लुम्बिनीको लोकप्रियता बढाउको लागि उक्त यात्रा लुम्बिनीबाट शुभारम्भ गरिएको राउतको भनाइ छ । जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादव सहित रुपन्देही जिल्ला समितिले लुम्बिनीको माटो राउतलाई हस्तान्तरण गर्दै यात्रा अभियानको सुरुवात गरेको हो । मेचीदेखी महाकालीसम्म रहेका करिब प्रत्येक स्थानीय तहमा पुग्ने लक्ष्य सहित जनमत माटी यात्रा सुरु गरिएको जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले लुुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

पत्रकारहरुसित संक्षिप्त कुरा गर्दै राउतले अभियानको मूख्य उद्देश्य भनेको हरेक स्थानिय तहको गाउँ घर सम्म पुगि जनतमसंग प्रत्यक्ष जोडिएर त्यहाको माटो संकलन गर्ने र अन्तिममा एउटा उद्यान बनाउका लागी प्रयोग गरिने रहेको जानकारी दिए । उनले उद्यानमा माटो संकलन गरिएको स्थानिय तहको बिशेष परिचय खुल्ने जानकारी सहितको एकता उद्यान बनाउने लक्ष्य राखी लुम्बिनीबाट यस अभियानको सुरुवात गरिएको उनले बताए ।
उद्यान बनाउने लक्ष्य राखिएको भए पनि उद्यान कहा बनाउने भन्ने बिषयमा अहिले नै टुङ्गो लागेको छैन । उनले यो यात्रा लगातार नभई चरणवद्ध रुपमा गरिने र अहिलेलाई कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी गरी ३ जिल्लामा मात्र गरिने बताए । पछि यसको लोकप्रियता र जनाधार हेरी अन्य जिल्लाहरुमा पनि यसलाई बिस्तार गरिने राउतले जानकारी दिए । राउतले अहिले पनि नेपालीहरु जातीको नाममा, भुगोल लगायतको नाममा बिभाजित रहेकोले त्यसलाई मेटाएर यो अभियानले एकता सन्देश समेत दिन खोजेको बताए ।
राउतले संघियता आएपछि देश नै टुक्रिने लगायतका गलत प्रचार गरिएकोले यो अभियानले सबै प्रदेशलाई जोडेको सन्देश दिने गरि राजनितिक सन्देश बोकेको जिकिर गरे । जनमतको माटी यात्रा सुरु गराउने पार्टीका केन्द्रिय उपाध्यक्ष अब्दुल खाँन, केन्द्रिय सचिव भोपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।