उपे‌‌‌‌‌न्द्र खनाल | वर्ष‌‌‌‌‌‌ : ०४ | अकंः २७ | कार्तिक २०७८

मानहुँकोट आन्तरिक पर्यटकको उपयुक्त गन्तव्य बनेको छ । कुहिरोले ढाकिएको दमौली बजार, बिहानको सुर्योदय, सुर्यास्त र हिमालको मनोरम दृस्यले पनि मानहुँकोटले पर्यटकको मन खिचेको हो । जसका कारण अहिले दिनहुँ ठुलो संख्यामा मानिसहरुको भिड बढ्दै गएको छ ।

मानहुँकोटलाई प्राकृतिक सौन्दर्यले पनि साथ दिएको छ । तर खानेपानी समस्याले भने संधै पिरोलिरहन्छ । खानेपानी अभावकै कारण गाउँका मानिसहरु सहर झर्न थाले । गाउँमा सात सय घरधुरी थियो तर अहिले सात घर मात्रै छन् । त्यहि पानी नै मानहुँकोटबासीको लागि बसाइसर्नुपर्ने कारण बन्यो ।

वर्तमान परिस्थिीतमा मानहुँकोटमा आन्तरिक पर्यटकको घुईचो बढेको छ । जसले गर्दा गाउँ झरेका मानिसहरु फेरी गाउँ फर्किन्छन् की भन्ने आसा पलाएको छ स्थानीय रेवती आलेले बताइन् । गाउँमा पर्यटकको चहलपहल बढेपनि पानीको स्रोत भने अझै जुटेको छैन, उनले भनिन् ।

व्यास नगरपालिका– ५ मानहुँकोटका स्थानीयलाई गाउँमा पानीको श्रोत नहुँदा आकाशको भर पर्न‘ बाध्यता छ । गाउँमा खानेपानीको अभाव भएकाले उनीहरुको बिहानको समय पानीको जोहो गर्दैमा जाने गरेको छ । बर्षौं देखिको खानेपानी समस्या समाधान हुन नसक्दा एकातिर गाउँमा बस्ती पातलिँदै गएको छ भने अर्कोतर्फ उनिहरुले पानी लिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

स्थानीय रेवती आलेले गाउँको खानेपानी समस्या समाधान नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको बताइन । ‘खानेपानीकै कारण गाउँका अधिकांस घरपरिवार बसाइँसराइ गरिसकेका छन्, बसाइँसराइले गर्दा घरपरिवार घट्ने र बस्ती उजाडिँदै गएको छ,’ उनले भनिन ‘छ सात सय घरधुरी रहेको मानहँुकोटमा खानेपानीकै अभावका कारण अहिले सातआठ घर मात्र सिमित छन ।’ केही समय अगाडी मानहुँकोटमा करिब सात सय घरधुरी बसोबास गर्थे तर, हिजोआज बस्तीमा मानिस कति छन् भनेर खोज्नुपर्ने अवस्था छ । बर्खाको समयमा आकासको पानीले गाउँबासीलाई सहज बनाएको भएपनि सुख्खा याममा भने कठिन छ । गाउँमा पानी नभएपछि बस्ती तल रहेको धारापानीबाट पानी ल्याउन स्थानीयले करिब दुई घण्टा समय खर्चदै आएका छन् । खानेपानीको चरम समस्या झेलेका त्यस क्षेत्रका स्थानीयलाई अहिले आकाशे पानीले भने केही राहत दिएको छ । गाउँकै मानुहुँकोट प्राथमिक विद्यालयको छानोबाट आकाशे पानी संकलन गर्ने व्यवस्था भएपछि स्थानीयलाई राहत मिलेको हो ।

स्थानीय गोपी बहादुर थापाले विद्यालयको छानोबाट आकाशे पानी ट्याङ्कीमा संकलन गरी दैनिक एक घरले तीन गाग्री पानी उपभोग गर्दै आएको बताए । वडा कार्यालयले गाउँका स्थानीयको समस्या केही हदसम्म भएपनि न्यूनिकरण गर्न दुई लाख ५० हजार बिनियोजन गरी ट्यान्ङ्की निर्माण गरेको छ । त्यहि ट्याङ्कीमा जम्मा भएको आकासको पानी शुद्ध भएमा पिउने र नभएको खण्डमा नुहाउन तथा कपडा धुन प्रयोग गरेका छन् ।

व्यास–५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले लिफ्ट प्रविधिको खानेपानी आयोजना सञ्चालनका लागि गाउँमा आवश्यक घरपरिवार नभएका कारण समस्या भएको बताए । ‘केही प्राविधिक समस्या भएकाले यसको व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारसँंग आवश्यक पहल र छलफल गरिरहेका छौं,’ उनले भने ‘त्यहाँका स्थानीय खानेपानीको व्यवस्था गर्न सके सहर बजार केन्द्रीत भएका छोरा नातीलाई गाउँ फर्काउन सकिने आशमा छन् ।’

गाउँमा सडक, सञ्चार, विद्युत् आयो तर, अझै पानी आउन सकेन स्थानीय मधु माया थापाले दुखेसो पोखिन । ‘निर्वाचनमा भोट माग्न धेरै आए, त्यतिखेर प्रतिवद्धता जनाएकाले गाउँको समस्या समाधान हुने आश थियो तर, चुनाब जतेपछि कोही पनि गाउँ फर्केनन्,’ उनले भनिन् । गाउँमा अहिले बृद्धबृद्धा भएका परिवार मात्र बस्दै आएका छन् । बालबालिकाहरु राम्रो विद्यालयमा अध्ययनका लागि र युवापिँढिहरु वैदेशिक रोजगारीमा गएपछि गाउँ शून्य भएको छ । कुनै समय बाक्लो बस्ती रहेको मानहुँकोट पानीकै अभावका कारण अधिकांस मानिसहरु बेसी झरेपछि बस्ती विहिन भएको हो । दमौली, गुणादी, कन्टार, चापाघाट र केही काठमाडौ, पोखरा लगायतका बजार क्षेत्रमा बसाइ सरेपछि गाँउ शून्य भएको हो । मगर, ब्राह्मण, नेवार, दलित लगायतको संमिश्रण रहेको उक्त बस्ती पानीकै कारण अहिले एक्लो भएको छ ।

त्यस क्षेत्रमा बसोसाव गर्दै आएका बासिन्दालाई तीन गाग्री पानीले पुगेन भने करिब दुई घण्टा खर्चेर एक गाग्री पानीको जोहो गर्न‘पर्ने बाध्यता अझैपनि कायमै छ । कुनैबेला एकग्राग्री पानी जोहो गर्न रातको ३ बजे उठेर पानी भर्न जाने गरेको मधुमाया थापाले बताइन् ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले मानहुँकोटको विकासका लागि नगरपालिकाले खानेपानी समस्या समाधानको विकल्प खोजी रहेको बताए । ‘खानेपानी अभावकै कारण उजाडिएको मानहुँकोटलाई फेरी व्यूँत्याउने प्रयासमा छौं,’ उनले भने यो ठाउँ पर्यटकीय क्षेत्र भएकाले पनि यहाँको समस्यालाई समाधान गर्न आवस्यक छ । बिजुली पुग्यो, सडक पुग्यो तर अझै पानी पुग्न सकेन स्थानीय रेवती आलेले गुनासो गरिन् । मानहुँकोटमा पानी पर्याप्त भैदिएको भए पर्यटक मात्र होइन पानीकै अभावका कारण सहर झरेका गाउँलेहरु पनि गाउँ सम्झेर फर्किन्थे की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *