
राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ मंषिर ०१, बुधवार
नेपाल सरकार राहदानी विभागले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक समारोहबीच ई-पासपोर्ट सार्वजनिक गरेका हुन्। पराराष्ट्रमन्त्री खड्काले पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई वितरण गरेका हुन्।
ई–पासपोर्ट कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्।
विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो। ई-पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ। पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताए। अरू प्रकारका भने जनवरीदेखि मात्रै जारी हुनेछन्।
मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ। सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्। विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने लक्ष्यअनुसार नै समयमै काम सकेको हो ।
ई पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका ३५वटा तस्वीर राखेको छ । २०७७ पुस १० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहने गरि निर्णय गरेको थियोे ।