
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २०, शनिवार
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ।
तिहारको यही सामाजिक मान्यताले गर्दा दिदीबहिनी नहुनेका लागि भने आजको दिन निकै खल्लो लाग्ने गर्दछ। तर दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले त्यसयता भाइटीकाका दिन समेत यो मन्दिर खुला गरिएको थिएन। तर यसपटक भने आज भाइटीकामा दर्शनार्थीका लागि मन्दिर खुला हुने भएको छ।
वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ। संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो। त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो। त्यो प्रचलन अहिले पनि कायमै रहेको छ।