
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १६, मंगलवार
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडामा सोमबार वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रादेशिक अस्पताल श्री जानकी आँखा अस्पतालको सहयोगमा लक्ष्मीनियाँ गाउँपालिका र लक्ष्मीनियाँ युवा क्लवको समन्वयमा जनकपुर टुडे संचार समूहले आयोजना गरेको स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित सयौं रोगीहरुको चेकजाँच गरिएको छ ।
सो शिविरमा चेकजाँच गराउन आएका रोगीहरुलाई औषधि पनि निःशुल्क वितरण गरिएको छ । एक कार्यक्रमका बीचगाउँपालिका अध्यक्ष बिन्देश्वर यादवले उद्घाटन गरेपछि शिविर सुरु भएको थियो ।
अस्वस्थ मानिसले कुनै क्षेत्रमा योगदान गर्न सक्दैन, उनले भने, स्वस्थ मानिसले देश विकासमा महत्वपूर्ण योगदान गर्छ । त्यसैले स्वास्थ्यको मामिलामा सम्झौता नगर्न उनले सबैमा आग्रह समेत गरे ।
स्वास्थ पालिका बनाउनमा यस्ता शिविरहरु महत्वपूर्ण साबित हुने तर्क उनले गरे । गाउँमै चेकजाँच गरेर औषधिसमेत उपलब्ध गराएकोले स्वास्थ्य संस्थासम्म पहुँच नरहेको नागरिकहरुले अधिकतम लाभ लिनुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।
शिविरमा २ सय ८९ जनाको स्वास्थ्य जाँच गरिएको थियो । प्रादेशिक अस्पताल र श्रीजानकी आँखा अस्पतालका चिकित्सकहरुले शिविरमा आएका रोगीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा जाँच गरिएको मध्ये ४८ जनामा मोतियाविन्दु फेला परेको छ ।