
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १४, आइतवार
मेयरको घर अगाडि फोहोर थुपार्दै कालोमोसो दल्ने चेतावनी सहित जनकपुरधामको बजार क्षेत्रमै जताततै फोहोर बढ्दै जाँदा यहाँका जनप्रतिनिधी नै आन्दोलित भएका छन् । बढ्दै गएको फोहोरको व्यवस्थापन गर्न उप महानगरपालिकाका प्रमुख लालकिशोर साहले नै नमानेको भन्दै यहाँका वडा अध्यक्षहरु आन्दोलित भएका हुन् ।
उपमहानगरपालिकाको बिभिन्न वडाका वडाअध्यक्षहरुले नगरमा थुप्रिदैं गएकोमध्ये केहि फोहोर प्रमुख साहको घर अगाडि थुपारेका छन् ।

फोहोर थुपार्दै उनीहरुले नगरभित्रको फोहोर व्यवस्थापन गर्न तीन दिनको अल्टिमेटम दिएका छन् । ‘यो समयभित्र फोहोर नउठाइए हामी आन्दोलन गर्छेेा । मेयरलाई कालोमोसो दल्छौं’ वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले भने ।
वडा अध्यक्ष साहसहित वडा नम्बर १ का अध्यक्ष शत्रुद्यन साह, वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह लगायतकाले नगर प्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् । उनीहरुले पटक–पटक भन्दा पनि कुनै चासो नदिएका कारण आन्दोलनमा उत्रिनु परेको सुनाए ।
दीपावलीजस्तो पर्व नजिकिँदा समेत फोहोर उठान मेयरले ध्यान नदिएको वडा अध्यक्षहरुको गुनासो छ ।
गत असारमा नगरसभा भएपछि बोर्ड बैठक बसाउन नमानेको भन्दै वडाअध्यक्ष साहले भने, ‘हामीले बोर्ड बैठक बसौं भन्दा पनि मान्नुभएको छैन् । हामीले बोर्ड बैठक मार्फत् फोहोर व्यवस्थापनको नीति बनाउन आग्रह गर्दै आएको छौं ।’
फोहोरको थुप्रो बढ्दै गएको सन्दर्भमा कुरा गर्दा पनि चासो नलिएको र अहिले फोन गर्दा रिसिइभ समेत नगरेकाले बाध्य भएर आफूहरु फोहोर मेयरको घर अगाडि राख्न बाध्य भएको साहले बताए ।
उनका अनुसार उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्न तीन दिनको अल्टिमेटम दिइएको छ । ‘यो अवधीमा फोहोर नउठाइए हामी पुनः आन्दोलनमा उत्रनेछौं’ उनले भने ।