
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०८, सोमवार
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक रहेको बताएका छन ।
जनता समाजवादी पार्टी जनकपुरधाम उपमहानगर समितिले आज जनकपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणालीले अगामी दिनमा थप संकट निम्त्याउने भएको हुँदा निर्वाचन प्रणाली फेर्नु पर्ने बताए ।
निर्वाचन खर्च महँगो हुँदा योग्य र इमान्दार व्यक्तिहरु राजनीतिबाट पलायन हुने तथा माफियाहरु हावी हुनाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा जानु पर्ने आवश्यकता रहेको उनले प्रष्ट पारे ।
करौडो खर्चेर जित्ने जनप्रतिनिधिहरुबाट विकासको अपेक्षा गर्न नसक्ने उल्लेख गर्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा जानुपर्ने बताए । चुनावी खर्च न्युन हुने, इमान्दार नेताहरु संसदमा स्थान पाउने तथा विज्ञहरु सरकार संचालन गर्ने अवस्थाको सृजना हुने उल्लेख गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय सहितको उपस्थिति रहेको थियो ।