
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०८, सोमवार
मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताएका छन ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उनको कथन थियो ।
धनुषाको सबैला नपा ४ जरहियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश विद्रोहले ल्याएको संघीयताकै कारण आफु अल्पसंख्यक समुदायको भएपनि प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए ।
मधेश आन्दोलन स्थापित प्रदेश सरकार आन्दोलनकै म्याण्डेट अनुरुप मुलुकमा सबै समुदायका लागी आरक्षणको व्यवस्था गरेको बताए । शिक्षामा पछि परेको मुश्लिम, दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’
वडा समितिका अध्यक्ष श्याम सुन्दर मुखियाको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस , नेकपा एमाले, माओवादी लगायतका पार्टी परित्याग गरेका दर्जनौ नेता कार्यकता जसपामा प्रवेश गरेका छन ।
नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउत लगायतका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य एवं क्षेत्र नंं. १का प्रत्याशी दिपक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव, प्रदेश सभाका प्रत्याशी एवं संघीय परिषद सदस्य श्याम यादव, जिल्ला अध्यक्ष पशुपति यादव लगायतको सहभागिता थियोे ।