
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०४, बिहीवार
जनकपुरधाम। नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गर्ने पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएपछि जनमत पार्टीका कार्यकर्ताहरू जिल्ला प्रहरी कार्यालयअगाडि नाराबाजीमा उत्रिएका बास्तोलाले बताए। बास्तोलाले जनमत पार्टीका कार्यकर्ताहरू भूमिगत शैलीमा कार्यालयभित्र छिरेर कुश्वाहालाई दुर्व्यवहार गरेको बताएका छन्।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई तत्काल उद्धार गरिएको बताए पनि जनमत पार्टीका कार्याकर्ताले उनलाई लछारपछार पार्दै बजार क्षेत्रमा घुमाइरहँदा प्रहरी भने मुकदर्शक बनेर बसेको स्थानीयहरूले बताएका छन्।