
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २४, आइतवार
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
अस्पतालमा ८ जना स्थानीय उपचारका लागि आएकोमा ३ जनाको मृत्यु भएको र १ जनाको अवस्था गम्भीर भएको अस्पताल प्रशासन प्रमुख सुशील गुरुङले बताए । त्यस्तै अस्पतालमा ५ जना घाइते प्रहरीको पनि उपचार भइरहेको उनले बताए।
जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा ५० भन्दा बढी घाइते भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा प्रहरी र केही व्यक्तिहरुको उपचार भइरहेको छ।
प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाव सिर्जना भएपछि गोली चलाउनु परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।
बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो। तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको थियो। यता प्रहरी र सुकुम्बासीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु लगाएको छ।