
डा. राम दयाल राकेश | आश्विन २०७८, २४ आइतवार
मैथिली संस्कृति संसारमा सबैभन्दा सम्पन्न र समृद्धशाली संस्कृतिको रूपमा सुप्रसिद्ध र सुपरिचित छ । यस संस्कृतिमा दाजु–भाइ र दिदी–बहिनीको बीचको स्नेहिल सम्बन्धलाई अभिव्यंजित एवं अभिव्यक्त गर्ने तीनवटा लोकोत्सव प्रत्येक वर्ष बडो उत्साह एवं उमङ्गसहित मनाइने लामो परम्परा छ । सर्वप्रथम यस पवित्र सम्बन्धलाई उद्घाटित एवं उजागर गर्ने पर्व हो रक्षा बन्धन । त्यसपछि भैयादूज, भ्रतृद्वितीया, भर दूतिया अथवा नेपाली संस्कृतिमा मनाइने भाइटीका जस्तै गौरवशाली एवं महिमाशाली परम्परा बोकेको छ । जुन हामीले प्रत्येक वर्ष सम्पन्न गछौं । तदुपरान्त सामा चकेवाको महान पर्व कार्तिक महिना शुक्ल पक्षको द्वितीयादेखि कार्तिक शुक्ल पूर्णिमासम्म सम्पन्न गरिन्छ । यो अत्यन्त मनोरञ्जनात्मक लोकोत्सवको रूपमा मान्यता प्राप्त गरिसकेको छ ।
यो पर्व पनि महिलाप्रधान पर्वको रूपमा मनाउने गरिन्छ अर्थात् यसमा महिलाहरूको सहभागिता महत्वपूर्ण रहन्छ । यो पर्व गीत र सङ्गीतले परिपूर्ण रूपमा मनाइने गरिन्छ । कार्तिक महिनाको शुक्ल पक्षको प्रारम्भदेखि नै मिथिलाञ्चलका गाउँ गोरेटोमा सामा चकेवाको सुमधुर स्वर सुनिन थाल्दछ । सम्पूर्ण गाउँको परिवेश नै सङ्गीतमय बन्न जान्छ । यस लोकोत्सवमा किशोरी महिलादेखि बृद्ध महिलाको सहभागिता सराहनीय रहेको पाइन्छ ।

दिदी–बहिनीले आ–आफ्ना दाइ–भाइबीचको स्वकीय एवं स्नेहिल तथा प्रगाढ एवं प्रेमिल सम्बन्धलाई अभिव्यक्त गरेर आत्मसन्तोषको अनुभूति गर्ने गर्दछन् । शारदीय ऋतुमा मनाइने यस पर्वको आफ्नै छुट्टै विशेष मौलिकता छ । माथि आकाशमा अनगिन्ती ताराहरू टिमटिमाइ रहन्छन् र तल धर्तीमा धानका हरिया–हरिया बालाहरूले धर्ती शस्य श्यामल देखिन्छ । प्रकृति स्वयं नयाँ परिधानमा परिवेष्ठित भएको प्रतित हुन्छ ।
सम्पूर्ण रूपमा सङ्गीतमय यस पर्वमा मनाइने केही प्रसिद्ध लोकगीतहरू यस प्रकार प्रस्तुत गर्न सकिन्छ जुन मैथिल महिलाहरूको मगमगाउँदो मुखबाट जुनेली रातभरी मुखरित भइरहेका हुन्छन् । डालोमा माटोका विभिन्न मूर्तिहरू सजाएर गाउँका केटीहरू कुनै खुला मैदानमा यो पर्व मनाउन जाँदा बाटोभरी यो गीतको स्वर लहरी प्रतिध्वनित भइरहेको हुन्छ । पलपल कुनै न कुनै गीत गाउँदै यी किशोरीहरू नमनाभिराम नृत्य गर्दै यो लोकपर्व मनाउने गर्दछन् र अनौठा आकर्षक परिवेशको सिर्जना गर्ने गर्दछन् । जुनेली रात आफैमा चन्दन चर्चित रातको रूपमा प्रसिद्ध छ र त्यसमा सामा चकेवाको आकर्षक दृश्य–परिदृश्य र सङ्गीतमय गीतले चारचाँद जडिदिएको हो जस्तो आभाषित हुन्छ । यो पर्व पूर्ण प्राकृतिक परिवेशमा मनाउने गरिन्छ । यसमा गाउँका किशोरीहरूद्वार गाइने गीतहरूले अर्कै आनन्द र आकर्षण पैदा गरिदिन्छन् । उदाहरणस्वरूप यो लोकगीतको गेंडा हेरौं –
“डाला ल” बहार भेली, बहिनो से फलानो बहिनो
(यसमा बहिनीहरूको नामोउल्लेख गरी गाइन्छ)
फलाँ भैया लेल डाला छीनि, सुनु राम सजनी मचिया बैसल तोहे बाबा हो बरहिता तोरो पुत लेल डाला छीनि ।
कथी केर तोहेर डलवा हे बेटी कथी लागल चारू खूँट, सुन राम सजनी
सोने के हमर डलबा हो बाबा चम्पा चमेली चारू खूँट, सुनु रामसजनी
यो गीत गाउनुभन्दा पहिला चुगलालाई जलाइन्छ त्यसपछि बृन्दावन जलाउने परम्परा छ । तत्पश्चात झुमरी गीत गाइन्छ जुन यस प्रकार छः
“गाम के अधिकारी तोहैं फलां भैया हे,
हाथ दस पोखरी खुनाय दे, चम्पा फूल लगाए दे हे ।
भैया लोढुल, भौजी हार गाँथू हे ।
सेहो हार पहिरथु फलाँ बहिनो सामा चकेवा खेल करू हे ।
कथी बझाएव राजहांस चकेवा कथी बझाएव वन तितिर हैरभसी बझाएव रजहास चकेवा जाले बझाएव वन तितिर हे ।
सामा चेकवा बहिनो खेल करू हे ।

सामाको विधिविधानः
यो विधिविधान सबैभन्दा पहिला आँगनमा सम्पन्न गरिन्छ । पहिला गोसाउनीक (कुलदेवता) घरमा भगवतीको गीत गाउँदै सामालाई नवान्न जस्तो चिउरा, दही, गूड भोजन गराइन्छ । त्यसपछि पानी पिलाउने परम्परा छ र अन्तमा पान, सुपारी ख्वाइन्छ जुन मैथिली संस्कृतिको अभिन्न अङ्ग मानिन्छ । सामा चकेवालाई हातमा लिएर घर–घरमा धनधान्यले भरियो भन्ने कामना गरिन्छ । आँगनमा सबै भाइहरूको नामोल्लेख गरी सुमधुर गीत गाइने प्रचलन बर्षीदेखि चल्दै आएको छ । डालोमा सरस्यौंको तेलले बत्ती बालिन्छ । सबै सखी सहेली परस्पर गीत गाउँदै सामा चकेवा खेल्नका लागि गाउँको खुला मैदानमा जम्मा भएर सामा चकेवाको सुन्दर पर्व खेलिने लामो परम्परा अद्यापि जीवितै छ ।
पहिला पहिला कार्तिक शुक्ल पूर्णिमाको राति दाइ(भाइले सामाका माटो निर्मित मूतिहरू धुंडामा राखेर फोडिसकेपछि दिदी बहिनीले आ(आफ्ना दाइ(भाइलाई मिष्ठान्न खुवाएपछि मात्र यो पर्वको समापन गरिन्थ्यो कुनै जलाशयको किनारमा तर अहिले यो सम्भव छैन । यस तिथिमा दाजु–भाइ जहाँ भएपनि दिदी–बहिनीको घरमा आउने गर्दथे यो माथि उल्लेखित विधि सम्पन्न गर्नका लागि तर आधुनिक युगमा र वर्तमान समयमा यो सम्भव हुँदैन किनभने आजको जीवन धेरै व्यस्त छ । दाइ–भाइहरू पनि आ–आफ्ना काममा देश विदेशमा हुन्छन् ।
यस पर्वमा विना भेदभाव सबै जातजातिका किशोरीहरू पारस्परिक प्रेमपूर्ण वातावरणमा यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा छ । यस अर्थ र सन्दर्भमा यो पर्व पूर्ण प्रजातान्त्रिक भावनाले परिपूर्ण छ । सबै किशोरीहरू बडो सौहार्दपूर्ण वातावरणमा सामञ्जस्यपूर्ण ढंगले मनाउने गर्दछन् । यो गाउँलेहरूको लागि अन्यन्त मनोरञ्जक रूपमा मनाउने गरिन्छ ।
पौराणिक आख्यान अनुसार श्रीकृष्णकी सुपुत्री सामाको विवाह चक्रवाकसँग भएको थियो । चक्रवाक शब्दनै अपभ्रंश भएर चकेवा हुन गएको हो । यस युगल जोडीको नामबाट यस लोकोत्सवको नाम सामा चकेवा हुन गएको छ । सामाको भाइको नाम थियो साम्ब र यिनीहरूको सेवकको नाम थियो डेहुली (चुगला) ।

एक दिन साम्ब काम विशेषले गर्दा बाहिर गएको बेला मौका छोपी उसका सहायक डिहुलीले सामा प्रत्येक दिन वृन्दावनमा गएर ऋषिमुनिहरूसँग मोजमज्जा गर्नमा संलग्न हुन्थिन भनेर श्रीकृष्णसँग कुरा लगाई दिए । श्रीकृष्ण धेरै क्रोधित भएर सामालाई चरा हुने श्राप दिएपछि तिनीहरू पनि चरा भएर विचरण गर्नका लागि बाध्य भए । जब सामाका पति चक्रवाक अर्थात्चकेवालाई यो कुरो थाहा भयो उनी पनि आफ्नी पत्नीको विरह वियोगमा विदग्ध हुँदै वनमा विचरण गर्न थाले र उसलाई श्रीकृष्णप्रति क्रोध भयो तर उसले केही गर्न सकेन । स्वेच्छाले सामाको साथमा चक्रवाक दुवै चरा भएर जीवन विताउन थाले । साम्ब जब फर्केर आए उनले यो कुरा थाहा पाए । उनी धेरै मर्माहत भए । आफ्नी प्यारी बहिनीलाई श्राप मुक्त गर्नको लागि उनले घोर तपस्या गरेर श्रीकृष्णलाई खुसी तुल्याए । यसबाट श्रीकृष्णको क्रोध पनि साम्य भयो उनले प्रसन्न भएर सामा चकेवा र ऋषिमुनिहरू सबैलाई श्राप मुक्त गरिदिए । तत्पश्चात यिनीहरू पुनः स्वतन्त्र भएर विचरण गर्न थाले ।
अब यिनीहरू श्रीकृष्णको बरदान प्राप्त गरेपछि सामा चकेवा आफ्नो दाम्पत्य जीवन सुखीपूर्वक बिताउन थाले । सामा आफ्नो भाइ साम्बप्रति धेरै अनुगृहित भइन र भनिन् – मेरो भाइ साम्बले नै हामीलाई मुक्त गराएर एउटा स्मरणीय काम गरेकोले श्रद्धावनत भइन् । उनले यो घोषण गरिन् कि यस धर्तीमा श्रद्धापूर्वक ज–जसले माटोका सामा चकेवाको मूर्ति बनाएर गाउँ गाउँमा घुम्दै सामा चकेवाको स्मरणमा लोक गीत गाउँछ उसको दाइ–भाइ दीर्घायु एवं चिरायु भएर जीनव व्यतीत गर्छन् सुखपूर्वक त्यसै बेलादेखि सामा चकेवाको लोकोत्सव लोकप्रिय हुन गर्यो यो मान्यता अचेल सम्पूर्ण मिथिलाञ्चलमा प्रचलित छ ।
यस लोकोत्सवको प्रारम्भ सामा बनाउने माटोको छनौट र स्पर्श गरेर अनुष्ठान भ्रातृ द्वितीयाको शुभ मुहूर्तमा नै गर्ने गर्दछन् । तर व्यवहारिक रूपमा यसको प्रारम्भ छठको अर्वाअर्वाइनको दिनदेखि सामाचकेवाको माटाको मूर्ति (जुन सामा चकेवाको प्रतीकको रूपमा पुजित हुन्छ) । यसमा “सतभैय” (सप्तऋषि) को प्रतीकको रूपमा सम्मानित हुन्छ र बहिनी (दुई–चारवटा विपरित दिशामा मुख भएको जुन साम्ब र सामाको प्रतीक हुन्छ, आदिको मृणमय मूर्ति बनाइन्छ तर चुगलाको मूर्ति माटोबाट नबनाएर सिक्की भने मिथिलाञ्चलमा सहजरूपमा प्राप्त खरको जरातिर माटोले पुरै छोपेर बनाइएको झाड जस्तै (बृन्दावनको प्रतीक), यसको दुवैतिर लामो–लामो जुङ्ग भएको जुट (सनपाट) बाट माटोको मानवाकृति भएको चुगला (कुरा लगाउने डिहुली सहायकको प्रतीक बनाइन्छ) ।
माटोको छोप्ने हुने पोती (भकारी) जसमा सामा चकेवाको खानको लागि च्यूरा र गुँड राखिन्छ ।
यी सबै मूर्तिहरू बनाएर त्यसलाई चामलको पिठोको झोलले पछि विभिन्न रङ्गहरूमा रङ्गाएर यसलाई सिँगारिन्छ । यी सबै मूर्तिहरूलाई कोठी (माटोको सानो भकारी) माथि राखिन्छ । साँझ परेपछि प्रत्येक घरका किशोरीहरू एउटा बाँसको नयाँ निर्मित दौरामा (टोकरी) टुकी बालेर एउटै झुण्डमा गीत गाउँदै आ–आफ्नो घरबाट निस्केर पूर्व निर्धारित ठाउँमा एकत्रित भएर सामा चकेवाको लोकोत्सव सङ्गीतमय र नृत्यमय वातावरणमा मनाउँछन् । यो पर्वले मूर्तिकला र रङ्गकलालाई संरक्षित तथा सुरक्षित गर्दै आएको छ ।
सामा चकेवाको पर्व मनाउने क्रममा क्रमशः क्रमशः खरले बनाएको बृन्दावनमा आगो लगाएर जलाउँदै र गीत गाउँदै मनाइन्छ । त्यसपछि चुगला अर्थात् कुरा लगाउनेको जुङ्गमा टुकीले पोलिन्छ । त्यस बखत गाइने सामा चकेवाको गीत भिन्दै प्रकारको सुरतालबाट सुसज्जित भएको पाइन्छ । प्रस्तुत छ त्यो लोकगीत ः
धान धान भैया कोठी धान चुगला कोठी भुसा
चाउर–चाउर भैया कोठी चाउर र चुगला कोठी छाउर ।
मटर–मटर भैया कोठी मटर चुगला कोठी खखर चुगलाकरे चुगलापन विलैया करे म्याऊँ
चुगला के जिभ नोचि–नोचि खाँऊ ।
सामा चकेवा पर्वको आफ्नै मौलिकता विशेषता झल्किन्छ जुन संसारको अन्य संस्कृतिमा बिरलै पाइन्छ । यस लोकोत्सवलाई संरक्षित एवं सुरक्षित गर्न सरकार र नयाँ पुस्ताले ध्यानपूर्वक जगेर्ना गर्नुपर्ने आजको टड्कारो आवश्यकता छ ।
सामा चकेवाको सन्देश दिदी–बहिनी दाजुभाइको र स्नेहील सम्बन्ध जाओस् यसको अर्को महत्वपूर्ण के सबल सुदृढ हुदैं जाओस् भन्ने छ । यसको अर्को महत्वपूर्ण पक्ष माटोको कलालाई मरणासन्न अवस्थामा नपु¥याई यसलाई पुनर्जिवित गर्नु । मिथिलाञ्चलका कुम्हार जातिले यस कलालाई आफ्नो जीविकाको साधन बनाउँदै आएका थिए । साथै अर्को सन्देश के छ भने लगाउने चुगलालाई थोचित सजाय दिनु । मैथिल जनजीवनमा चुगलाहरूलाई सम्मानपूर्वक नजरले हेरीदैनन् र यसलाई दूरुत्साहित गरिन्छ ।