
डा. राम दयाल राकेश | २०७८ आश्विन २१, बिहीवार
“आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।”
अश्वत्थामा, दशरथ, रघु, नहुष, बलराम विदुर जस्ता महात्माहरुले समेत दुर्गाको पुजा र उपासना गर्दथे भने मानवजाती त स्वभावैले सत्य, शक्तिको र विजयको उपासना नगर्ने कुरै भएन । दशैं भनेको आराधनाको पर्व हो । असत्यमाथि सत्यको जीत । एक उत्सव । एक उमंग । सत्यको विजयोत्सव ।
नेपालमा हिन्दू धर्मावलम्बीहरूको संख्या अत्याधिक भएको सर्वविदित छ तर पनि यहाँ इस्लाम र बौद्ध धर्म पनि उतिनै सम्मानित र पूजनीय मानिन्छ । नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश भए पनि हिन्दूधर्मको वर्चस्व अझ पनि कायम छ । नेपालको संविधान अनुसार नेपाल धर्म निरपेक्ष राज्य घोषित भइ सकेको छ । यहाँ विभिन्न धर्मावलम्बीहरू आ–आफ्ना धर्मको अनुसार धार्मिक कार्य र गतिबिधि गर्नका लागि स्वतन्त्र छन् ।

शान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्म नेपालको तराई मधेशमा भए पनि बौद्ध धर्मको वर्चस्व यस क्षेत्रमा कायम हुन सकेन जुन एउटा अनुसन्धानको विषय हुन सक्तछ । तर भगवान गौतम बुद्ध प्राचीन मिथिलाको राजधानी जनकपुरभ्रमणको सिलसिलामा जानुभएको उल्लेख कतै कतै पाइन्छ तर बौद्ध धर्मको प्रचार प्रसार यहाँ नहुनुको मुख्य कारण यो नै हुन सक्तछ कि यहाँ हिन्दू धर्म धेरै शक्तिशाली रूपमा स्थापित भएको कुरो सर्वविदित छ । हिन्दू धर्म पनि शैव, शाक्त र वैष्णव भक्तिधाराबाट सिंचित हुँदै आएको छ ।
नेपालमा शाक्त भक्ति धाराका अनुयायीहरू पनि अत्याधिक मात्रामा पाइन्छ । शक्तिका यी उपासकहरू शक्तिकी प्रतिमूर्ति दुर्गाको आराधना, अर्चना र अभ्यर्थनामा सदियौंदेखि आसक्त भएको पाइन्छ । दुर्गा शक्तिकी देवी हुन् । कुनै पनि माङ्गलिक शुभकार्य सुरू गर्नुभन्दा पूर्व माँ भगवती दुर्गाको स्तुति गरिन्छ–
या देवी सर्वभूतेषु शक्ति–रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।
जस्तो यसबाट के प्रष्टिन्छ भने संस्कृतिमा शाक्त भावना र भक्ति धारा सशक्त भूमिका निर्वाह गर्दै आएको छ । शक्तिका उपासक को छैन र ? सबैलाई शक्तिको सरोकार स्वागत योग्य मानिन्छ । शक्ति विना यो संसार नै सुचारू रूपले सञ्चालित हुन सक्तैन । यही कारण छ कि यहाँको प्राचीन राजा र महाराजाले पनि शक्तिपीठको स्थापना ठाउँ ठाउँमा गरेर यसको उपासना गरेका थिए । स्वयम मिथिला नरेश राजर्षि जनकको इष्टदेवी राजदेवी थिइन् र जनकपुरको प्रसिद्ध राममन्दिरको प्राङ्गणमा अवस्थित राजदेवीको पूजा–आजा आजसम्म धुमधाम र भव्यताका साथ भइरहेको छ । दुर्गा पूजामा राजदेवीको पूजा–आजा बडो धुमधामसित गरिन्छ । यसको लागि विशेष पूजा समितिको गठन गरिन्छ । यस अवसरमा भजन–कीर्तनको विशेष व्यवस्था गरिन्छ साथै यस मन्दिरमा पनि पशु–पक्षीको वलि प्रदान गरिन्छ ।

सप्तरीको सदरमुकाम राजविराजमा पनि राजदेवीको मन्दिर छ र यहाँ दुर्गापूजा बडो धूमधामसित मनाएर दुर्गापूजाको परम्परालाई जीवित राखिएको छ । यहाँभन्दा १० किलोमिटर दक्षिणमा छिन्नमस्ता देवीको मन्दिर छिन्नमस्तामा अवस्थित छ । यसलाई सखडा भगवती पनि भनिन्छ । यहाँ भक्तजनहरूको भाकल पूरा हुने गरेकोले यसको प्रसिद्धि झन् झन् बढ्दै गएको छ । यहाँस्थित देवीको टाउको छिनिएकाले यसको एउटा नाम छिन्नमस्ता हुन गएको छ । यहाँ पनि दुर्गापूजाको अवसरमा भक्तजनहरूको घुइचो हेर्न लायकको हुन्छ । यहाँ पनि पशुपंक्षीको बलि अत्याधिक मात्रामा चढाइन्छ । यहाँ रहस्यमय कुरो के छ भने यहाँ बलि प्रदान गरिएको रगतमा झिङ्गा बस्दैन । यो सबैले गर्दा भक्तजनहरूको आस्था र विश्वास बढ्दै गएको पाइन्छ ।
भारदहस्थित कङ्कालिनीमाइको मन्दिरमा पनि दुर्गा पूजाको अवसरमा भक्तजन र श्रद्धालुहरूको भीड लागेको हुन्छ । मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरमा पनि दुर्गाको एउटा भव्य र दिव्य मन्दिर अवस्थित छ जहाँ दुर्गापूजाको अवसरमा भक्तजनहरू पूजा आजा गरेर दुर्गापूजा मनाउँछन् ।
पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा गहवामाईको मन्दिर अत्यन्त प्रसिद्ध छ । यहाँ दुर्गा पूजाको अवसरमा विशेष मेला लाग्ने गर्दछ र भक्ति, आस्था र विश्वासको शक्तिपीठ गहवा माइको विशेष किसिमबाट पूजा आजा गरिने सदियौं पुरानो परम्परा छ । यस शक्तिपीठको नामबाट यस क्षेत्रको नाम नै माइस्थान (थान) रहन गएको छ । हुनत वर्षभरि गहवा माईको पूजा आजा गरिन्छ तर दुर्गा पूजाको अवसरमा यहाँ विशेष किसिमको पूजा गर्ने व्यवस्था मिलाइएको हुन्छ । एकाबिहानदेखि बेलुकीसम्म गहवा माईको पूजा–आजा गर्ने गरिन्छ र भक्तजनहरूको भाकल पनि पूर्ण हुने गर्दछ । दुर्गापूजाको विशेष अवसरमा यहाँ नेपालका विभिन्न जिल्लाहरू र छिमेकी मुलुक भारतको विहार र चम्पारण जिल्लाहरूबाट पनि भक्तजनहरू पूजा–आजा गर्न आउँछन् । यस गहवा माईको प्रसिद्धी धेरै ठाउँमा भएको पाइन्छ । यसको धार्मिक र सांस्कृतिक महत्व पनि सर्वविदित छ । दुर्गा भवानीका सात बहिनीको प्रतिमा लामबद्ध यहाँ अवस्थित छ ।

सिमरौनगढमा पनि प्रसिद्ध कङ्कालिनी माईको मन्दिर कर्नाटवंशीय राजाहरूको पालादेखि अवस्थित छ । यिनीहरूको इष्टदेवीको रूपमा पूजित यस दुर्गाको पूजाआजा पनि उतिकै महत्वको साथ गरिन्छ । यहाँ दुर्गापूजाको अवसरमा देशका विभिन्न भागहरूबाट तीर्थ यात्रीहरू आएर कङ्कालिनी माईको पूजा आजा बडो श्रद्धा र भक्तिको साथ गर्ने सदियौंदेखिको परम्परा अझ पनि जीवित छ ।
दुर्गापूजाको अवसरमा बारा जिल्लाको वरियारपुर गाउँमा अवस्थित नेपाल तराई मधेसको सबैभन्दा ठूलो शक्तिपीठका रूपमा चर्चित गढीमाईको मन्दिरमा भक्तजनहरूको भीड सर्वाधिक हुने गर्दछ । यहाँ हरेक पाँच वर्षमा एशिया महादेशको ठूलो मेलामध्ये योेमेला लाग्दछ । यहाँ स्थित मन्दिरमा भाकल गरेको पूरा हुने पूर्ण जनविश्वास छ । यस मन्दिरमा स्थित गढीमाईको दर्शनार्थ भारत, नेपाल बाहेक अन्य देशका भक्तजनहरू पनि आउने गर्दछन् र दुर्गापूजाको अवसरमा विशेष भक्तिभावले पूजा–आजा गरेर आफ्नो मनोरथ पूर्ण गर्दछन् । यहाँ संसारमा सर्वाधिक बलि चढाउने गरिन्छ ।
बाँके जिल्लाको सदरमुकाम नेपालगन्जस्थित बागेश्वरी माईको पूजा आजा पनि दुर्गापूजाको अवसरमा विशेष किसिमबाट गर्ने गरिन्छ । यहाँ बागेश्वरीलाई पूजा–आजा गरेर श्रद्धालुहरू आफ्नो मनोकामना पूरा हुने विश्वास गर्दछन् । सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवाको मध्य भागमा दुर्गामन्दिर अवस्थित छ जहाँ दुर्गा पूजाको अवसरमा जिल्लाबासीहरू बाहेक अन्य जिल्लाबाट आएका भक्तजनहरू विशेष किसिमबाट दुर्गाको पूजा–आजा गर्दछन् ।
महोत्तरीको डाम्ही र मनरा अवस्थित शक्ति पीठहरुमा शताब्दियौं देखि दुर्गापूजा धूमधामका साथ हुने गरेको पाइन्छ । पूजासंगै यहाँको विशेषताको रुपमा बली प्रथा रहेको छ । सयौंको संख्यामा बली प्रदान वर्षैं देखी परम्पराको रुपमा चल्दै आएको छ ।
दुर्गापूजाको अवसरमा देशभरिका श्रद्धालु भक्तजनहरु आ–आफ्ना इष्टदेवीको पूजा–आजा गर्ने गर्दछन् । यस बाहेक जुन ठाउँमा दुर्गा मन्दिर हुँदैन त्यहाँ गाउँलेहरू चन्दा सङ्कलन गरेर माटोको दुर्गाको प्रतिमा बनाएर दुर्गापूजा गर्ने गर्दछन् । गाउँ–गाउँमा ठूलो मेला लाग्ने गर्दछ । रामलीला, रासलीला, भजनकीर्तन, एकाह, सप्ताह, नवाह आदिको प्रदर्शन पनि यस अवसरमा हुने गर्दछ । रातरातभरि भक्तिभावले भरिपूर्ण श्रद्धालुहरू मनोरञ्जन र धर्म दुवै भावनाले रामलीला हेर्दछन् ।
आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रूपमा दुर्गा पूजा मान्ने गर्दछन् । दुर्गापूजा अर्थात् दुर्गापूजाको अन्तिम दिन विजयादशमीको दिनमा गाउँ गाउँमा दुर्गाको प्रतिमामा आफ्नो श्रद्धाभक्तिभाव पोख्ने गर्छन् । भक्तजनहरू एकाबिहानैदेखि स्नान गरेर र नयाँ वस्त्र धारण गरेर मन्दिर मन्दिर गएर दुर्गा पूजा गर्ने गर्दछन् । दुर्गा सप्तशतिको पाठ नौं दिनसम्म घर घरमा पुरोहित र पण्डितहरूद्वारा गराइन्छ । घरमा जमरासंगै पुरोहित एवं पण्डितहरू आ–आफ्नो घरमा जमरा राख्ने गर्दछन् । विजयादशमीको दिनमा पण्डितहरु ती जमरा आफ्ना यजमानहरूको नाडीमा बाँध्ने र टाउकोमा मन्त्रोच्चारणको साथमा राखिदिन्छन् । दुर्गा शक्तिको आह्वानमा आशीर्वादको भावना पनि लुकेको हुन्छ ।

दुर्गापूजाको अवसरमा टीका थाप्ने प्रचलन छ । सबै गाउँ–ठाउँको आ–आफ्नो सांस्कृतिक संस्कार हुन्छ । दुर्गाको पूजाको अवसरमा तराई समुदायमा मूर्ति पूजन रबली प्रथालाई प्रमुख्ता दिएको पाइन्छ भने पहाड तीर टीकाको प्रचलनलाई प्रमुख्ता दिएको देखिन्छ । दुर्गा पूजाको अवसरमा गाउँ गाउँमा मनोरञ्जनका लागि नाटक, कुश्ती (दंगल), खेलकुद आदिको व्वस्था गरिएको हुन्छ । यो पनि मनोरञ्जनका लागि नाच गानको प्रबन्ध पनि मिलाइएको हुन्छ । यो पनि मनोरञ्जनका लागि र मेला आयोजनाको प्रमुख अङ्गको रूपमा मानिन्छ । जुन गाउँमा मेला लागेको हुन्छ त्यहाँसम्म मानिसहरू पुगेर दर्शनार्थ जाने गर्दछन्न् – दुर्गाको । पिङ्गको पनि व्यवस्था मनोरञ्जनकालागि नै गरिएको हुन्छ । मानिसहरू एक आपसमा प्रेम भावसित मिल्ने गर्दछन् र शुभकामनाको आदान प्रदान गर्ने गर्दछन् । बडो रमाइलो वातावरणको सृजना स्वतः हुन जान्छ । यस अवसरमा दुर्गा मन्दिरको आँगन–प्रागणमा भक्तजनहरूको भीड हेर्न लायकको हुन्छ । मौसम पनि शारदीय भएकोले र कृषि कर्मबाट मुक्त भएकोले गाउँलेहरू यस अवसरमा असाध्यै रमाउने गर्दछन् । यस अवसरमा खञ्जन र नीलकण्ठ पंक्षीको दर्शन शुभ मानिन्छ । महाकवि तुलसीदासले रामचिरत मानसमा भनेका छन् –
जानी शरदऋतु खञ्जन आए
देखहु लक्ष्मण परम सुहाय
अर्थात शरदऋतु धेरै मन भावन र मोहक भएकोले खञ्जन चरा आउने गर्दछन् । यसबाट यस ऋतुको शोभामा चार चाँद जडेको महसूस हुन्छ । खास गरेर यस ऋतुको जुनेलीरातमा मानिसहरू मनग्गै रमाउने गर्दछन् र धार्मिक भावनाबाट अभिभूत पनि हुने गर्दछन् । तराई मधेशमा दशैंको प्रमुख आकर्षण हुन्छ, “झिझिया” लोकनाच । दशैभरि गाउँले केटीहरू झिझिया लोकनाचमा नाच्ने गर्दछन् । घर घरमा गएर गीत गाउँदै मनोरञ्जन गर्दछिन् र बोक्सीलाई मनपरि गाली गर्दछिन् । यस प्रकार भिन्दा–भिन्दै किसिमबाट दशैं मनाउने परम्परा तराई मधेश लगायत देशभरि प्रचलित छ ।