मुलुक डेस्क | आश्विन १८ २०७८, सोमवार

विपद् जोखिम न्युनीकरणका लागि बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने गरेको सोमबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताए ।

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा युनिसेफको आर्थिक तथा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा राजविराज नगरपालिका र रुपनी गाउँपालिकासँगको सहकार्य एवम् समन्वयमा सञ्चालित समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको तदर्थ समितिको पहिलो बैठकमा बोल्दै वक्ताहरुले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आफ्नो गाउँपालिकाका बासिन्दालाई बाढीबाट जोगाउन बाढी पूर्व सूचना प्रणाली जडान गरिएपछि धनजनको क्षति हुनबाट धेरै हदसम्म जोगिएका बताए । “बाह्य सहयोग सधैंभरिलाई हुँदैन त्यसैले पूर्व सूचना प्रणालीको दिगोपनाको लागि अन्तरपालिका सहकार्य गरी दिगोपन कोष स्थापना गरेका हौं” अध्यक्ष सिंहले भने “बाढी पूर्व सूचना प्रणालीको दिगोपनाको लागिपालिका आफैले अग्रसरता लिनुपर्छ भनेर हामी अघि बढेका हौं ।”

जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जोखिम न्युनीकरणमा बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेको कुरामाजोड दिंदै दिगोपनाको लागि बास्केट फण्ड मोडालिटी अत्यन्तै राम्रो भएको जिकिर गरे । विपद् पछि राहतवितरणमा मात्रै केन्द्रीत नभई पूर्व तयारीमा ध्यानदिनुपर्ने आवश्यकता औंल्याए ।

सो बैठकमा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय अधिकारी उमेश यादव सहिताले बाढी पूर्व सूचना प्रणालीको आवश्यकतामाथि प्रकाश पारे । बैठकमा तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीबाट पुगेको फाइदा तथा अनुभवका बारेमा प्रस्तुतीकरण दिए भने ईसिमोडका विजय खड्गीले बाढी पूर्व सूचना प्रणालीका लागि दिगोपना सम्बन्धी प्रस्तुतीकरण दिऐ ।

बाढी पूर्व सूचना प्रणाली जडान गर्नुपर्ने आवश्यकता महसुस गरी जडान गर्न अनुरोध गर्ने पालिकामा यसको विस्तार गर्ने, तदर्थ समितिमा सुरक्षा निकायलाई आमन्त्रित सदस्यको रुपमा बोलाउने तथा खाँडो पूर्व सूचना प्रणालीको वाट्सएप ग्रुपमा अन्य सरोकारवालाहरुलाई समेत थपगर्ने जस्ता निर्णय भएको समितिका सदस्य सचिव तथा सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए ।

तिलाठी कोइलाडी गाउँपालिकामा युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम (सिसिडिआरआर) अन्तर्गत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को प्राविधिक सहयोग र सबल नेपालको संयोजनमा खाँडोे खोलामा समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *