राजन झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार

पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई रामानन्द चोक बमकाण्ड मुद्दामा ७ वर्ष कैद ठहर गरेको छ् । उच्च अदालतले आईतवार गरेको फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षड्यन्त्र रचेको ठहर गरेको छ ।

षड्यन्त्र रचेको अभियोगमा कम्तिमा १० वर्षदेखि अधिकतम् १५ वर्ष सजायको प्रावधान छ । कानुन व्यवसायीहरुका अनुसार साहलाई न्युन्तम् भएपनि १० वर्षको सजाय हुनेछ । गत हप्तादेखि उच्च अदालतमा सो मुद्दाको बहस चलेको थियो । दुबै पक्षका कानुन व्यवसायीहरुको बहस शुक्रवार सकिएको थियो ।

सो मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतबाट साहले राहत पाएपनि सो मुद्दाका अन्य दोषीहरुको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ । अन्य दोषीहरुको हकमा जिल्ला अदालतले गरेको फैसलालाई नै उच्च अदालतले सदर गरेको कानुन व्यवसायीहरुले जनाए ।

२०६९ सालको बैशाख १८ गते मिथिला राज्यको मागगर्दै रामानन्द चोकमा धर्ना बसेका प्रदर्शनकारीहरुको बीचमा बम विष्फोट गराउदा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

साहले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटकको चुनावमा उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो चुनाव उनले सदभावना पार्टीबाट जितेका थिए । पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए ।

राजनीतिमा खुट्टा जमाईसकेका साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख एसपी उत्तम सुवेदीले भारतको दिल्लीबाट पक्राउ गरि ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *