मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १६, शनिवार

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट विराटनगर वारियर्स बाहिरिएको छ । शनिबार (आज) भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल अगावै लिग चरणबाट बाहिरिएको हो ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग-यो । पोखराको जितको लागि असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले २४ बल खेल्दा तीन छक्का र चार चौका प्रहार गरे ।

त्यस्तै रिचर्ड लेभीले २६ बलमा ४७ रनको योगदान दिए । लेभीले तीन छक्का र चार चौका प्रहार गरे । त्यस्तै साहन अर्चाचिगेले ४३ रन जोडे । यता कप्तान विनोद भण्डारी १५ रनमा अविजित रहे । रित गौतम भने ५ रनमा आउट भए ।

यस जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाँडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै विराटनगरका लागि प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक–एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *