मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १३, बुधवार

चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत ललितपुर प्याट्रियट्सविरुद्ध पोखरा राइनोज ९ विकेटले विजयी भएको छ ।

त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि रिचर्ड लेभीले अविजित ३८ र रित गौतमले १२ रन बनाए । बलिङमा अजमतुल्लाह उमरजाईले एक विकेट लिए ।

त्यसअघि मैदान ओसिलो भएका कारण ७ ओभरमा झारिएको खेलमा ब्याटिङको मौका पाएको ललितपुरले ४ विकेट गुमाएर ५१ रन बनायो । उसका लागि सदुन वीराकोडीले १९, नारायण जोशीले ११ र ओशादा फर्नान्डोले अविजित १० रन बनाए ।कप्तान कुशल भुर्तेल (३), पवन सराफ (५), अजमतुल्लाह उमरजाई (१) र सन्दीप जोरा (०) भने दोहोरो अंकमा समेत रन जोड्न नपाउँदै आउट भए ।

युवा अलाउन्डर नारायण जोशीले ६ बलमा ११ रन बनाएका हुन् । उनले वेष्ट इण्डिजका स्टार बलर केसरिक विलियम्सको बलमा एक छक्कासमेत हिर्काए । साथै, उनले नन्दन यादवको बलमा पनि एक चौका प्रहार गरेका थिए ।

बलिङमा नन्दन यादवले २ ओभरमा ११ रन दिएर ३ विकेट लिए । त्यस्तै, विक्रम सोबले दुई र केसरिक विलियम्सले एक विकेट हात पारे । नन्दनले पोस्ट म्याच कन्फरेन्समा बोल्दै राष्ट्रिय टोलीबाट खेल्ने सपना रहेको बताएका थिए ।

‘पहिलो पटक म्यान अफ दी म्याच भएको छु,’ नन्दनले भने, ‘एकदमै खुसी लागिरहेको छ । सबै खेलाडीको गोल नै एउटै हुन्छ, राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेर खेल्ने ।,’ नन्दन भन्छन्, ‘म राष्ट्रिय टोलीबाट खेल्न मात्रै होइन, राम्रो प्रदर्शन गर्न चाहन्छु । एकपटक आएर छुमन्तर हुन चाहन्न ।’

जारी सिजनमा ललितपुरको यो लगातार दोस्रो हार हो । पोखराको भने यो पहिलो जित हो । पहिलो खेलमा वर्षा बाधक बनेपछि पोखराले अंक बाँडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *