
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १३, बुधवार
प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन्।
जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताए।
विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको धारणा ब्यक्त गरेका छन् । यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनको विश्वास रहेको छ।
विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिबद्ध रहेको प्रधानामन्त्रीको भनाइ रहेको छ।