अगनसिंह थापा, २०७८ आश्विन ९, शनिवार

दुर्लभ घुमाउने घरको पिढीमा सुस्ताएको छ तन । मनभने वाल्यकालीन स्मृति कराहीमा जेरीजस्तै घुमिरहेको छ । फनफनी ।

“बगेको वाल्यकाल कहिल्यै फर्कदैन
अतीतको आनन्द फर्की-फर्की आउछ।”

घुमाउने घरका हरेक रैथाने सरसमान र कृषि औजारहरूले वाल्यकालीन रंग पोतेर गाउघरको चित्र बनाइरहेछ । एकपछि अर्को गर्दै । मेरो मस्तिष्कमा ।

छातीभरि अमीट छाप बनेर बसेका सुखद पलहरू जीवन्त भएर आइरहेछ । एकाएक । आफन्त महकिने गाउवासी, उच्च मनोरञ्जनबाट मानवीय पीडा भुलाएर शरीरमा उर्जा भर्ने वडहर भान्ज्याङको कान्छी बजारको सास्कृतिक उत्सव । झुन्डझुन्ड बसेर तन्नेरी तरुनीका रसिला लोकगीतहरू । मृदुल ओठबाट निस्कने मधुर भाकाहरू । बिहेको बेला पधेराबाट पानी बोकेर फर्कने चेलीहरूको लोभलाग्दो लस्कर । काधमा हलोजुवा बोकेर गोरु हाक्दै खेतबारी तिर लम्कने कर्मठ किसान । वर्षाअघि गामबेसी माथि माथि देखिने बादलका बुट्टा । वर्षाले धोएपछि खुल्ने कन्चन आकाश आदिको कोलाज बनिरहेछ ।

आउदै गरेको बडादशैलाई उछिनेर अतितका दशै आखामा घुमिरहेछ । रोटेपिङ भएर । नयाँ नानाको रहर, मीठो खानाको स्वाद र मामाघरको टीकामा पाइने पैसाको महत्त्व झनझन उजागर हुदै गैरहेछ । कसैले किन डुलिस, किन खेलिस, किन हासिस, किन कराइस भनेर नकराइने लामा स्कुल बिदाका मस्तीका दिनहरू । बाहिरी कोलाहलबाट मुक्त । त्यसमाथि वसन्त ऋतुले ल्याएका ती गामबेसीका झकिझकाउ प्रकृतिक बिम्बहरू । घरका भित्तोभरी पाउडरसरी पोतिने रातो माटोको बास्ना र कमेरोको चमक । हरर बास्नासहित बुट बजार्दै छुट्टीमा आउने लाहुरेहरू । तीनले बोकेका टेपरेकर्डरबाट गुन्जने गीतहरू । पारिवारिक पुनर्मिलनको अथाह आनन्द र सुखद सम्झनाले मनमा आनन्द र सुख नै थपिरहेछ ।

स्कुलबाट भागेर जलवीरे रहमा पौडी खेल्दाको सुखद सम्झनामा दगुर्यो नसानसामा । दौँतरीहरूको साथ हर्षोल्लासमा सम्पन्न हुने जीवनको सर्वप्रिय मनोरञ्जनकारी थिए, ती पुराना दिनहरू । जलवीरेको चिसो पानीले शरीरका अंगअंगमा स्पर्श गराउदाको शीतल र आनन्द मिसियो त्यसैमा । पाखापखेराका बयर र ऎसलुका स्वाद थपियो । गोकुल्ढुक र आर्गादी धाराको सम्झना आयो । चिसो र तिक्खर पानी घाटीको सुरुङ हुँदै पेटमा पुग्यो । पुरै शरीरभरि शितलताको सन्चार गराएर । खेतबारीका अर्गानिक अन्नपात, फलफूल, गाईभैसीका दुधदही, लोकल मासुअण्डा जस्ता स्थानीय स्तरका रसिलापोशिला खानेकुराले मुख रसायो । जसरी रसाउछ पहाडबाट जरुवा ।

घुमाउने घरसंग बिगतका बग्रेल्ती सुखद सम्झनाहरू समेटिएका छन् । जसको मिठासले रोमाञ्चक भ्रमणमा हिडेको फिरन्तेजस्तै घुमिरहेको छु म । आफ्नै स्वर्णिम स्मृतिलाई साथ लिएर । चरनपछि धुलो उडाउदै घर घरमा फर्काउदै गर्दाको गाईगोरु, बाख्राका बथानसंगै डुलेर फर्कियो मेरो मन । निस्फिक्री र ढुक्कले सुसेल्दै बित्ने गाउँले जीवनशैलीमा जीवनको सार्थकता देखिरहेछु म । गरिरहेछु सबैसबै गामबेसीका तस्वीरले आफ्नो विगतसँगको आफ्नोपन पुनः प्राप्त भएको अनुभूति ।

“बगेको वाल्यकाल कहिल्यै फर्कदैन
अतीतको आनन्द फर्की-फर्की आउछ ।”

घुमाउने घरका झ्याल साना छन् । गाउघरका माटाले बनेका घरहरू पनि यस्तै खर र ढुङ्गाले छाएका साना नै थिए । तिनै साना तर वातानुकुलित घरमा बस्ने मान्छेका मन भने पहाडभन्दा ठूला हुन्थे । सगोलका परिवार ठूला भए पनि आपस मिलेर बस्थे । झ्याल ढोका सागुरा र होचा भएर के भो ? तिनै घरमा बस्ने मान्छेका स्वाभिमानी छाती मैदानजस्ता फराकिला थिए । इमानदारीताका अग्ला शिखर थिए । साह्रा हुन्थे किसानका सुत्ने ओछ्यान । तर कर्ममा जुटिरहेने जागरिला कृषिका निन्द्रा मिठा थिए ।

फेरि आफैमा भावनात्मक रोमाञ्चकताको सन्चार गराएर अनुभुतिहरूमा असीम आनन्द लिने क्रम चल्न थाल्यो । उहिले औपचारिक शिक्षा थिएन तर नैतिक र चरित्रवान थिए । बिनम्र बोलीबचन र हितैषी व्यवहार रोपेर आत्मीयता उमार्थे । देख्नासाथ नातानुसारको सम्बोधन र कुशल क्षेम सोध्ने सस्कारको गोडमेलले सुमधुर सम्बन्ध हुर्काउर्थे । प्रेम र सद्भावले घनिष्ठ मित्रतारुपी फल फलाउथे । जे छ त्यसैमा रमाउने स्वाभिमानी स्वभाव थियो । बिलासिताको सपनामा तड्पिने, तडकभडक र देखासिखीको जमाना थिएन ।

आहा … ! बिरानो बनेका गाउँले अनायास आफन्त बन्दै गएको महसुस भैरहेको छ मलाई । भान भैरहेकोछ, बर्षौ टाढा भएको गाउँ मानौं मुटु नजीक बसेको छ । कति बेजोडले बुर्कुसी मारेछन् स्मृतिहरू, मनको मैदानमा ! जसलाई फेरि सम्झेर सबै सम्झन सकिदैन । भाषाभन्दा भावनाको गहिराई अत्याधिक हुन्छ नै । त्यस्तो अनुभूतिको आनन्द व्यक्त गर्न शब्दहरू सधै निर्बल र अपूरा हुन्छन् मेरा ।

वास्तवमा यथार्थभन्दा स्मृति धेरै गुना बढी सुखद, आत्मीय र प्रेमिल हुँदोरहेछ । यो यथार्थ त्यतिबेला थाहा भयो, जतिबेला घुमाउने घरमा बसेर वाल्यकालीन गाउघर घुम्ने समय सकियो । अर्थात् घर फर्कने बेला घर्किसकेको चेत भयो । सम्झना त त्यो अथाह समुन्द्रको पानी रहेछ । जसलाई जति उबाए पनि कहिल्यै नरित्तिने ।

“बगेको वाल्यकाल कहिल्यै फर्कदैन
अतीतको आनन्द फर्की-फर्की आउछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *