
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ६, बुधवार
मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन ।
क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ ।
निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए । उनले मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने बताए।
अनिवार्य अवकाश पाउने तयारीमा रहेका पोखरेलले मङ्गलबार साँझ पदबाट राजीनामा दिएको थियो । हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा अनुभव रहेको क्षेत्री क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर समेत काम गरिसकेका छन ।