
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार
काठमाडौं । भारतीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप निर्यातमा बाटो खुला भएको छ । नेपालमा कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डव्यले नेपालमा कोभिसिल्ड खोप अक्टोबरमा आउने जानकारी दिएका हुन् । नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको हो ।
भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकाको उत्पादक कम्पनीसँगको सहकार्यमा नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ । भारत सरकारले कोरोना महामारीको दोस्रो लहर बढेसँगै खोप निर्यातमा रोक लगाएको थियो । प्रतिपक्षी दलहरूको विरोध र अदालतको आदेशअनुसार खोप निर्यातमा रोक लागेको थियो ।

सिरमका अधिकारीहरूले खोप निर्यात खुला भएपछि पहिलो प्राथमिकतामा नेपाललाई दिने वचनबद्धता जनाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण एसियाका दुई मुुलुक श्रीलंका र बंगलादेशले पनि नेपालले जस्तै पहिले नै भुक्तानी गरेअनुसार खोप पाएका छैनन् । श्रीलंकाले १५ लाख डोज कोभिसिल्ड अर्डर गरेकोमा पाँच लाख डोज मात्रै पाएको छ ।
उसले बाँकी १० लाख डोजका लागि ताकेता गर्दै आएको थियो । बंगलादेशले सेरमसँग तीन करोड डोज खोप खरिद सम्झौता गरेको थियो । बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार उसले ७२ लाख डोज मात्रै प्राप्त गरेको छ । अब बाँकी खोप नेपालसहित अन्य मुलुकले पनि पाउने बाटो खुलेको छ ।